२२ आश्विन २०८३, बिहिबार

परराष्ट्रमन्त्री खनाल र वङबीच भेटवार्ता : थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको प्रतिबद्धता



काठमाडौँ। नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच छलफल भएको छ।

मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुवै मन्त्रीले नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान गरेका थिए। लामो समयदेखि कायम रहेको दुई देशबीचको मित्रवत् सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा उनीहरूबीच सहमति भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटवार्तामा नेपालमा हालै आएको बाढी र त्यसबाट भएको क्षतिका विषयले पनि प्राथमिकता पाएको थियो। अस्ट्रेलियाली विदेशमन्त्री वङले बाढीका कारण प्रभावित परिवार र समुदायप्रति समवेदना व्यक्त गर्दै विपद्को सामना गरिरहेको नेपाललाई अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने प्रतिबद्धता

विपद् व्यवस्थापन तथा राहतका लागि अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने घोषणा पनि वङले गरिन्। नयाँ घोषणा यसअघि आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्धता गरिएको ११ मिलियन अस्ट्रेलियन डलरभन्दा अतिरिक्त हो।

अस्ट्रेलियाबाट प्राप्त हुने नयाँ सहयोग बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन, प्रभावित समुदायलाई प्रारम्भिक अवस्थामा सामान्य जीवनतर्फ फर्काउन तथा पुनर्लाभका कार्यक्रम अघि बढाउन प्रयोग गरिने जनाइएको छ।

भेटका क्रममा मन्त्री खनालले बाढी तथा अन्य विपद्का बेला अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली नागरिकबाट नेपालले पाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले संकटको समयमा प्राप्त मानवीय सहयोगले दुई देशबीचको मित्रता, सहकार्य र आपसी विश्वासलाई थप बलियो बनाउन योगदान पुर्‍याएको बताए।

दुवै पक्षले आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउँदै साझा हितका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।