३१ आश्विन २०८३, शनिबार

माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत



काठमाडाैं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्ल्याटिनम अवार्ड प्राप्त गरेको छ । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘री-इन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड्स, बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनौट गरिएका हुन् ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकताक्रममा राखेका प्रतिबिम्बित भएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ नाममा अर्को पुरस्कार प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्शद्वारा नयाँ दिल्लीमा आयोजित फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मानस्वरूप प्रदान गरिएको हो । यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ ।

यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै आएको छ । बैंकले भिसा लिडरसिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड २०२३ र २०२५, टायफ राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ लगायत विगत वर्षहरुमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।