उपत्यकामा जुनसुकै ब्रान्डका सिलिन्डर निःशुल्क साट्न पाइने
चाडपर्वका बेला ग्यास नपाएर सास्ती भोग्नुपर्ने उपभोक्ताको बाध्यता हटाउन उपत्यकामा जुनसुकै ब्रान्डका सिलिन्डर पूर्ण रूपमा निःशुल्क साट्न मिल्ने विशेष काउन्टर सञ्चालनमा आउने भएका छन् ।
काठमाडाैँ । चाडपर्वका बेला एलपी ग्यास पाउन सहज होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डका खाली सिलिन्डर साट्न मिल्ने विशेष प्रबन्ध गरिँदैछ । चाडपर्व नजिकिँदै गर्दा एउटा मात्र सिलिन्डर भएका उपभोक्ताले कम्पनी फरक परेकै कारण सास्ती भोग्नु नपरोस् भनी नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको संयुक्त पहलमा यो व्यवस्था मिलाउन लागिएको हो ।
यसअघि बजारमा ग्यास उपलब्ध भए पनि फरक कम्पनीको सिलिन्डर भएका कारण उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था थियो । कतिपय स्थानमा डिलरहरूले सिलिन्डर साटिदिएबापत अतिरिक्त शुल्कसमेत असुल्ने गरेका गुनासाहरू बाहिर आएका थिए । अब भने उपत्यकाका विभिन्न १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर खडा गरेर यो सुविधा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन लागिएको छ ।
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्तालाई राहत दिनकै निम्ति उद्योगीहरूलाई यो विशेष व्यवस्थाका लागि अनुरोध गरिएको बताए । उनका अनुसार बजारमा ग्यास पर्याप्त हुँदाहुँदै पनि सिलिन्डरको ब्रान्ड फरक परेका कारण मात्रै उपभोक्ताले दुःख पाउन नपरोस् भन्ने यसको मुख्य ध्येय हो ।
विगतमा डिलरहरूले ३०० रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको प्रवृत्तिलाई मध्यनजर गर्दै यो नयाँ अभ्यास पूर्ण रूपमा निःशुल्क हुने स्पष्ट पारिएको छ ।
यो सुविधा व्यापारी वा डिलरहरूका लागि नभई पूर्ण रूपमा वास्तविक उपभोक्ता लक्षित रहेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यासको दुरुपयोग रोक्न र वास्तविक पीडितसम्म सुविधा पुर्याउनका लागि काउन्टरबाट सिलिन्डर साट्दा उपभोक्ताको परिचय खुल्ने कागजात वा निस्सा र मोबाइल नम्बर अनिवार्य रूपमा अभिलेख राखिनेछ ।
यसबाट राज्यका निकायहरूले पनि सहजै अनुगमन गर्न सक्ने विश्वास लिइएको छ ।
नेपाली सेनाको मुख्यालय, छाउनी र सीतापाइला लगायतका स्थानमा संयुक्त काउन्टर सञ्चालनमा ल्याउने विषयमा अन्तिम चरणको छलफल भइरहेको छ । संकलन भएका फरक–फरक कम्पनीका खाली सिलिन्डरहरू पछि उद्योगीहरूले आपसी सहमतिमा आन्तरिक रूपमै व्यवस्थापन गर्नेछन् ।
कुन–कुन स्थानबाट सेवा सञ्चालन हुने भन्ने विषयको अन्तिम टुंगो लागेसँगै आगामी एक–दुई दिनभित्रै यससम्बन्धी औपचारिक सूचना सार्वजनिक गरिने निगमले जनाएको छ ।
दसैं तथा तिहारजस्ता चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिरिने हुँदा यस अवधिमा ग्यासको खपत करिब ४० प्रतिशतसम्म घटे पनि उपत्यकामै दसैं मनाउने र एउटा मात्र सिलिन्डर प्रयोग गर्ने परिवारहरूका लागि यो प्रबन्धले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।















