२२ आश्विन २०८३, बिहिबार

नबिल बैंकका सेयरधनीलाई लोभलाग्दो लाभांश : यस्तो छ विगत ५ वर्षको नगद र बोनसको फेहरिस्त



काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा निजी क्षेत्रबाट पहिलो बैंकका रूपमा स्थापित नबिल बैंकले आफ्ना सेयरधनीलाई लोभलाग्दो लाभांश वितरण गरेको छ। बैंकले आफ्नो बलियो वित्तीय स्थिति र मुनाफाको दायराभित्र रहेर सेयरधनीहरूलाई हरेक वर्ष बोनस सेयर तथा नगद लाभांशमार्फत आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ।

आज मात्रै नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

लगानीकर्ताको नजरमा नबील बैंक सधैं आकर्षक गन्तव्यका रूपमा रहँदै आएको छ। बैंकको पछिल्ला पाँच वर्षको लाभांश वितरण हेर्ने हो भने पनि सेयरधनीहरुको आकर्षण स्वभाविक देखिन्छ। बैंकले सुरुका वर्षहरूमा उच्च बोनस सेयरसहितको लाभांश दिएको र त्यसपछिका वर्षहरूमा मुख्यतया नगद लाभांशलाई बढी जोड दिएको देखिन्छ।

पछिल्ला ५ वर्षको नगद र बोनसको फेहरिस्त

नबिल बैंकको पछिल्ला पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई केलाउँदा, आर्थिक वर्ष २०७८/७९ मा बैंकले १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो भने त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा बैंकले ११ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। कोरोना महामारीको प्रभाव रहेको समयमा यसरी उल्लेखनीय लाभांस वितरण गर्न सक्नुले बैंकको वित्तीय सबलताको क्षमता झल्काएको छ।

यसैक्रममा आर्थिक वर्ष २०८०/८१ मा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा लाभांशमा वृद्धि गर्दै बैंकले १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यसैबीच बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो।

पछिल्ला वर्षहरूमा नगद लाभांशलाई प्राथमिकता दिँदै आएको नबिल बैंकले चालु आर्थिक वर्षका लागि पुनः बोनस सेयरको समेत आकर्षक मिश्रणसहितको लाभांश प्रस्ताव पारित गर्नुले बैंकको वित्तीय स्वास्थ्य थप सबल बन्दै गएको स्पष्ट संकेत गरेको छ। यसले एकातिर सेयरधनीहरूको पुँजी वृद्धिमा सहयोग पुर्‍याएको छ भने अर्कोतर्फ बजारमा लगानीकर्ताहरूको विश्वासलाई अझ प्रगाढ बनाएको छ।