२३ आश्विन २०८३, शुक्रबार

श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागको निर्देशन, नदिए कहाँ गर्ने उजुरी ?



काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै श्रम कानुनमा व्यवस्था भएअनुसार श्रमिकलाई चाडपर्व खर्च प्रदान गर्न सबै रोजगारदाताको ध्यानाकर्षण गराएको हो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उक्त सुविधा नदिने रोजगारदाता वा प्रतिष्ठानविरुद्ध श्रमिकले सम्बन्धित निकायमा उजुरी गर्न सक्ने जनाइएको छ।

चाडपर्व खर्च प्राप्त नगरेका श्रमिक तथा कामदारले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिन सक्ने विभागले स्पष्ट पारेको छ।