२३ आश्विन २०८३, शुक्रबार

पूर्वाधार विकास बैंकको लाभांश वितरणमा कडाइ, राष्ट्र बैंकद्वारा बफर गणना विधिमा संशोधन



काठमाडौं। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाभास वितरणमा कडाइ गरेको छ। राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै काउन्टरसाइक्लिकल क्यापिटल बफर गणना गर्ने विधि परिवर्तन गरेको हो।

संशोधित व्यवस्थाले कर्जा विस्तारबाट उत्पन्न हुन सक्ने जोखिमका आधारमा बैंकले कायम गर्नुपर्ने अतिरिक्त पूँजीको मापदण्ड परिमार्जन गरेको छ। जसअनुसार क्रेडिट–टु–जीडीपी ग्याप गणना गर्दा चालु वर्षको क्रेडिट–टु–जीडीपी अनुपातबाट अघिल्ला पाँच वर्षको औसत अनुपात घटाइनेछ। यसअघि यस्तो गणनाका लागि विगत १० वर्षको औसतलाई आधार मान्ने व्यवस्था थियो।।

काउन्टरसाइक्लिकल क्यापिटल बफर भनेको कर्जा अत्यधिक विस्तार हुँदा भविष्यमा हुन सक्ने घाटा र जोखिम सामना गर्न बैंकले अतिरिक्त रूपमा कायम गर्नुपर्ने नियामकीय पूँजी हो।

राष्ट्र बैंकले कर्जा विस्तारबाट वित्तीय प्रणालीमा उत्पन्न हुन सक्ने प्रणालीगत जोखिमको मूल्याङ्कन गरी बैंकको पूँजी पर्याप्तता सुदृढ बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। निर्देशनअनुसार, आवश्यक बफरको स्तर बढाउन पूर्वाधार विकास बैंकले अधिकतम १२ महिनासम्मको समय पाउनेछ भने बफर घटाउन तत्काल अनुमति दिइनेछ।

त्यस्तै, तोकिएको काउन्टरसाइक्लिकल बफर कायम गर्न नसक्ने बैंकले आफ्नो आम्दानी वितरण गर्न पाउने छैन। यस व्यवस्थाले सम्बन्धित बैंकको लाभांश वितरण क्षमतामा समेत असर पार्ने
भएको हो।