२५ आश्विन २०८३, आइतबार

बूढीगण्डकी बाढी अपडेट : ३५ घर र ६ पुल बगायो, १० जना बेपत्ता



काठमाडौँ। बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की तथा चारवटा झोलुङ्गे पुलसहित कुल ६ वटा पुल बगाएको छ। बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

शर्माका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ ।

यसैगरी, माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडोभऱ्याङ–जगत् तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलहरू पनि बाढीमा परेका छन्।

बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर क्षेत्रमा रहेका करिब ३५ घरसमेत बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि बाढीका कारण क्षति पुगेको जनाइएको छ।