६९.५० लाखमै म्याक्ससको १६ सिटर माइक्रो भ्यान ‘ई-डेलिभर ५’ सार्वजनिक
काठमाडौं । प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई-डेलिभर ५’ नेपाली बजारमा सार्वजनिक भएकाे छ।
हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालयन मोटर्स प्रालिले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच याे माइक्राे भ्यान सार्वजनिक गरेकाे हाे । यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रूपैयाँ निर्धारण गरिएको छ।
यो गाडी विशेषगरी होटल, रिसोर्ट, अन्य पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक यातायात क्षेत्रका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
यस कम्पनीले केही समयअघि मात्रै म्याक्सस ई-टेरोन ९ पिकअप पनि बजारमा ल्याएको थियो, जुन आकर्षक तथा बोल्ड भएका कारण नेपाली बजारमा हाल निकै लोकप्रिय हुँदै आएको छ।
नेपालको सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदै गएको सन्दर्भमा विद्युतीय कारजतिकै सुविधा तथा विशेषताहरू भएको यो मिनिबस आधुनिक तथा आकर्षक बनावट, सुविधासम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि, आरामदायी तथा यात्रु सुविधा र व्यावहारिक उपयोगिताको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ।
प्रिमियम सुविधाका लागि यसमा रहेको १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीले ब्लुटुथ, युएसबी, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोलाई समर्थन गर्छ। यसका साथै चार तहको एडजस्टेबल स्टेरिङ, आकर्षक तथा आधुनिक ककपिट, स्टेरिङ माउन्ट तथा स्विच गेयर जस्ता सुविधाले यात्रालाई थप सहज र आधुनिक बनाउन सहयोग पुर्याउँछन्।
विद्युतीय क्षमताका हिसाबले म्याक्सस ई-डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। यस सवारीसाधनले कम्पनीको परीक्षण अनुसार ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम १२० किलोवाट पावर र २४० न्युटन मिटर टर्क उत्पादन गर्छ।
यसमा ७० किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसअनुसार ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट मात्र लाग्छ।
गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले गर्दा विद्युतीय व्यावसायिक सवारीसाधन अपनाउन चाहने व्यवसायीहरूलाई थप विश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।
सुरक्षा तथा सुविधालाई उच्च प्राथमिकता दिँदै यस गाडीमा ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ तथा ड्राइभर स्टेट मोनिटरिङ जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्।
यसका अतिरिक्त चालक तथा अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता आधुनिक सुरक्षा सुविधा समेत उपलब्ध छन्। साथै, २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स हुनुका साथै यसका सबै चक्काहरू एलोय ह्वीलसहित रहेका छन्।

















