बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, यी विषयमा गर्नेछन् छलफल
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। गृहमन्त्री गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्।
गृहमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। विश्वकै सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा सुधन गुरुङको बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागिता नेपालका लागि गौरवपूर्ण र महत्वपूर्ण उपलब्धिको रूपमा रहेको छ।
उनले उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्दै आतङ्कवाद, मानव बेचबिखन, साइबर अपराध, सम्पत्ति शुद्धीकरण तथा लागुऔषध ओसारपसारलगायतका प्रमुख क्षेत्रीय सुरक्षा चुनौतीका विषयमा छलफल गर्नेछन्।
साथै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहत कार्यमा समन्वय अभिवृद्धि गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई नेपालले प्राथमिकतामा राख्नेछ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको उक्त बैठकमा सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।
सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रअन्तर्गतको यो पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको हो। बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, आतङ्कवाद, साइबर अपराध तथा विपद्जन्य सुरक्षा चुनौतीलगायतका साझा चासोका विषयमा छलफल हुनेछ।
यसका साथै बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रका विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेज पारित गर्नुका साथै बैठकको अन्त्यमा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ। बैठकमा सहभागिताका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

















