२७ आश्विन २०८३, मंगलबार

उपत्यका छाड्ने यात्रुको चाप उच्च : एकैदिन ५६ हजार बढी बाहिरिए



काठमाडौं। बडादसैँ नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट आ–आफ्नो गृहजिल्ला जाने यात्रुको सङ्ख्या बढ्न थालेको छ। अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा सार्वजनिक यातायातमा यात्रुको चाप बढेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्।

उक्त अवधिमा सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। यस नाकाबाट २७ हजार ६४९ जना बाहिरिएको प्रहरीले जनाएको छ। त्यस्तै भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ जना यात्रु बाहिरिएका छन्।

यात्रुको आवागमन बढेसँगै सार्वजनिक यातायातको व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीहरूले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले विभिन्न राजमार्गमा देखिएका समस्याका कारण सवारीसाधन सञ्चालन र व्यवस्थापन प्रभावित भएको जानकारी दिए।

उनका अनुसार दसैँको मुखमा राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा सडक बिग्रिँदा सवारीसाधनलाई निर्धारित समयमा गन्तव्यमा पुग्न कठिन भएको छ। काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको नियमित सञ्चालनमा अवरोध हुँदा यातायात व्यवस्थापन थप जटिल बनेको उनले बताए।

गौतमका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ सुरु भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्गको सडक भासिएर आवागमन प्रभावित भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु ओसारपसारको व्यवस्थापनमा समस्या उत्पन्न भएको उनको भनाइ छ।

यसैबीच, महासंघले यात्रुलाई आधिकारिक रूपमा टिकट खरिद गरेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादरअनुसार रकम तिर्न तथा यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

दसैँ परिवार र आफन्तसँग भेटघाट गर्दै खुसी साटासाट गर्ने प्रमुख चाड भएकाले राजधानीमा बसोबास गर्ने मानिसहरू हरेक वर्ष यो समयमा आफ्नो घर फर्किने गर्छन्। आगामी दिनमा पनि उपत्यकाबाट बाहिरिने यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ।