रसुवाका बाढीपीडितलाई ठमेलका रात्रीकालिन मनोरञ्जन व्यवसायीको सहयोग
काठमाडौँ। नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी सङ्घ ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ। सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई पाँच लाख ५१ रुपैँया नगद र खाद्यान्न सहयोग गरेको हो ।
उक्त रकम र खाद्यान्न सोमबार साँझ सङ्घका अध्यक्ष रुपेश गुरुङले रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ की कार्यवाहक वडाअध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गरे। उक्त गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेका छन् ।
बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति व्यहोर्नुपरेका प्रभावित परिवारलाई लक्षित गर्दै सहयोग उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए। विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको सङ्घले जनाएको छ।
बाढीप्रभावित रसुवा र नुवाकोटका बासिन्दालाई पाँच लाख नगदका साथै १२ बोरा चामल, तीन बोरा दाल, एक बोरा च्युरा, ३० कार्टुन चाउचाउ र महिलाका लागि स्यानिटरी प्याड उपलब्ध गराइएको संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’ले जानकारी दिए। प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकारद्धय कर्मा घले र श्री शाही, सङ्घका सचिव सबु तामाङ, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठको सहभागीता रहेको थियो। बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, विभिन्न संघसंस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताइएको छ।

















