अर्थतन्त्रमा सुस्तता: नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण
काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि अर्थतन्त्रको सुस्तताले लक्ष्य प्राप्त गर्न निकै चुनौतीपुर्ण देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२६ मा ३.६ प्रतिशतमा सिमित हुने जनाएको छ ।
कोषको विश्व आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशत र सन् २०२७ मा ३.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। यसअघि सन् २०२५ मा नेपालको आर्थिक विस्तार ४.४ प्रतिशत रहेको थियो।
आर्थिक वृद्धिमा सुस्तता आउने अनुमानसँगै मूल्यवृद्धि पनि आगामी वर्षहरूमा फरक गतिमा अघि बढ्ने आईएमएफको प्रक्षेपण छ। प्रतिवेदनले सन् २०२६ मा नेपालको मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने देखाएको छ। सन् २०२५ मा यस्तो दर ४.१ प्रतिशत थियो।
विश्व अर्थतन्त्रमा पनि सुस्त विस्तार
आईएमएफका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहनेछ। यो अघिल्लो वर्षको ३.५ प्रतिशत वृद्धिभन्दा कम हो। सन् २०२७ मा भने विश्व आर्थिक वृद्धि ३.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
प्रतिवेदनले विश्व अर्थतन्त्रमा एकातिर मध्यपूर्वको द्वन्द्वले ऊर्जा बजारमा अनिश्चितता बढाएको र अर्कोतिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसम्बन्धी लगानीले आर्थिक गतिविधिलाई समर्थन गरिरहेको उल्लेख गरेको छ।
मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। तेलको मूल्यमा आएको वृद्धिले ऊर्जा आपूर्ति, उत्पादन खर्च र समग्र मूल्यवृद्धिमा दबाब सिर्जना गरेको छ। यस्तो अवस्थामा एआई पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावलाई केही कम गर्न मद्दत गरिरहेको आईएमएफको विश्लेषण छ।
थाइल्यान्डको बैंककमा आयोजित आईएमएफ र विश्व बैंकको वार्षिक बैठकका क्रममा सार्वजनिक प्रतिवेदनले एआई प्रविधिको विकास र त्यसका लागि आवश्यक उपकरण तथा सामग्री उत्पादन गर्ने मुलुकहरूले यस क्षेत्रमा भइरहेको लगानीबाट बढी लाभ लिन सक्ने संकेत गरेको छ।
अमेरिका र युरोपको वृद्धिमा एआईको योगदान
आईएमएफले अमेरिकाको अर्थतन्त्र सन् २०२६ र २०२७ मा समान रूपमा २.३ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ। अमेरिकी उपभोक्ताको खर्च, कर कटौतीबाट प्राप्त हुन सक्ने लाभ तथा एआई प्रविधिमा बढ्दो लगानीलाई आर्थिक वृद्धिका प्रमुख आधारका रूपमा हेरिएको छ।
युरोजोनको आर्थिक वृद्धिको अनुमान पनि सुधारिएको छ । सन् २०२६ का लागि यस क्षेत्रको आर्थिक वृद्धिदर १.१ प्रतिशत अनुमान गरिएको छ। यसअघि जुलाईमा सार्वजनिक प्रक्षेपणमा यो दर ०.९ प्रतिशत रहने बताइएको थियो।
एआईमा बढ्दो पुँजीगत खर्च, औद्योगिक आपूर्ति सञ्जालमा युरोपेली मुलुकहरूको सहभागिता र रक्षा क्षेत्रमा बढिरहेको खर्चले आर्थिक गतिविधिलाई गति दिन सक्ने आईएमएफको आकलन छ। बेलायतको आर्थिक वृद्धिको अनुमानसमेत बढाएर १.३ प्रतिशत पुर्याइएको छ।
विश्वका ठूला अर्थतन्त्रमध्ये चीनको आर्थिक वृद्धिदर भने केही कमजोर रहने अनुमान छ। आईएमएफले सन् २०२६ मा चिनियाँ अर्थतन्त्र ४.५ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।

















