विश्व वित्तीय बजारमा एआई र ऋण संकटको खतरा, कुनै पनि बेला गम्भीर संकट आउन सक्ने आईएमएफको चेतावनी
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कृत्रिम बौद्धिकता (एआई) मा देखिएको अत्यधिक उत्साह, सरकारी ऋणपत्रको बढ्दो प्रतिफल र साइबर आक्रमणको जोखिमका कारण विश्व वित्तीय बजारमा कुनै पनि बेला गम्भीर संकट आउन सक्ने चेतावनी दिएको छ।
काठमाडाैँ । आईएमएफले विश्व वित्तीय बजारमा देखापरेको बलियो अवस्था देखेर ढुक्क भएर बस्ने बेला नभएको चेतावनी दिएको छ। कृत्रिम बौद्धिकता (एआई) का कारण बजारमा अचानक शेयर बिक्रीको दबाब आउन सक्ने, सरकारी ऋणपत्रको प्रतिफल उकालो लाग्ने र साइबर आक्रमण बढ्न सक्ने खतरा औंल्याउँदै आईएमएफले जोखिम औंल्याएको छ।
“ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्ट” सार्वजनिक गर्दै उक्त संस्थाले मध्यपूर्वको द्वन्द्व र समग्र नीतिगत अनिश्चितताले अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई अहिलेसम्म एआई क्षेत्रमा भएको लगानीले थेग्न सघाएको जनाएको छ। तर, एआईको क्षमताले सोचेजति ठूलो लगानीको माग नगर्न सक्ने वा यसबाट अनुमान गरिएजति आर्थिक लाभ हासिल नहुन सक्ने संकेतहरू बढेर गएको उसले उल्लेख गरेको छ।
थाईल्याण्डको बैंककमा आयोजित पत्रकार सम्मेलनमा आईएमएफको मौद्रिक तथा पुँजी बजार विभागका उपनिर्देशक थानासियोस वाम्भाकिडिसले एआई बजारमा आउने कुनै पनि प्रकारको गिरावटले वास्तविक अर्थतन्त्रलाई प्रभावित पार्ने बताए।
उनले आम्दानीमा देखिएको ठोस वृद्धि र एआईप्रतिको आशावादका कारण विश्वव्यापी जोमिखको भावना निकै बलियो भए पनि त्यस्तो उत्थानशीलता सधैं सुरक्षाको प्रत्याभूति भने नहुने स्पष्ट पारे। एआईमा आउने गिरावटले सम्पत्ति र लगानीमा पार्ने असर समग्र बजारसम्म फैलन सक्ने उनको भनाइ थियो।
बजारमा अचानक शेयर बिक्रीको लहर आउने जोखिम, सार्वभौम ऋणपत्रको प्रतिफलमा भारी वृद्धि र ठूला साइबर आक्रमणहरू नीति निर्माताहरूले तत्काल निगरानी गर्नुपर्ने मुख्य सम्भावित उत्प्रेरकहरू रहेको आईएमएफले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। यीमध्ये प्रत्येक जोखिम आफैंमा व्यवस्थापन गर्न योग्य देखिए पनि तिनले प्रणालीगत प्रभाव पार्न सक्ने कमजोरीहरू निम्त्याउन सक्ने वाम्भाकिडिसले बताए।
यदि एआई लगानीको गति सुस्त भएमा, यस क्षेत्रमा बढ्दो ऋणभारले बलजफ्ती शेयर बिक्री र बजारमा अस्थिरता बढाएर कुनै पनि किसिमको धक्कालाई झन् गम्भीर बनाउन सक्ने आईएमएफले औंल्याएको छ। उदाहरणका लागि, सन् २०२४ मा एक प्रतिशतभन्दा कम रहेको हाइपरस्केलर्स लगानी हाल विश्वव्यापी लगानी-ग्रेड बन्ड निष्कासनको १० प्रतिशत पुगेको छ।
एआई बजारको सुधारका परिणामहरू विश्वव्यापी हुन सक्ने चेतावनी दिँदै आईएमएफले व्युत्पन्न साधन र मार्जिन कर्जा जस्ता क्षेत्रहरूमा अत्यधिक भएको ऋणको प्रयोगलाई नियन्त्रण गर्न नीति निर्माताहरूलाई आग्रह गरेको छ।
सार्वभौम ऋणको दबाब
यसैबीच, गत अप्रिलको प्रतिवेदनको तुलनामा बढेको ऊर्जा मूल्यले सरकारी ऋणपत्रको प्रतिफल माथि धकेलेकाले ऋण बजारका जोखिमहरू थप गम्भीर बनेको आईएमएफले जनाएको छ। प्रमुख अर्थतन्त्रहरूमा ऐतिहासिक रूपमा उच्च रहेको सार्वभौम ऋणको स्तर र समाधान हुन बाँकी राजश्व घाटाले यस दबाबलाई थप बढाएको छ।
केन्द्रीय बैंकहरूले आफ्नो वासलात खुम्च्याइरहेको र मूल्यप्रतिको संवेदनशील लगानीकर्ताहरूमा निर्भर हुनुपरेको अवस्थामा सार्वभौम क्षेत्र र निजी क्षेत्रबाट समेत आइरहेको विशाल ऋणपत्रको आपूर्तिलाई बजारले धान्न सक्ने क्षमताप्रति बजार चिन्तित रहेको वाम्भाकिडिसले बताए।
ऋण बजारले अहिलेसम्म यस्तो दबाबलाई राम्रैसँग सामना गरेको र हेज फन्डहरूले रिपो बजारमा ठूलो हलचल नल्याइकन आफ्नो रिपो कर्जा घटाउन सफल भएको आईएमएफको प्रतिवेदनमा उल्लेख छ। साथै, संस्थाले नीति निर्माताहरूलाई सार्वजनिक ऋणलाई दिगो मार्गमा लैजान जोड दिएको छ।
साइबर सुरक्षाका चुनौती
विशेष गरी उदीयमान बजारहरूमा स्रोतसाधनको अभाव र थोरै संख्याका सेवा प्रदायकहरूमाथिको बढ्दो निर्भरताले साइबर सुरक्षालाई थप कठिन बनाउँदै लगेको आईएमएफले प्रस्ट पारेको छ।
सन् २०२६ को सुरुआतदेखि ७० प्रतिशतभन्दा बढी मामिलाहरूमा सफ्टवेयर प्रदायकहरूले कमजोरीहरू पत्ता लाग्न र तिनको दुरुपयोग हुनुअघि समाधान (प्याच) गर्न लगभग कुनै समय नै पाएनन्, जुन गत वर्षको तुलनामा २० प्रतिशत विन्दुले बढी हो। एआईले यीमध्ये केही जोखिमहरूलाई सम्बोधन गर्न मद्दत गरे पनि यसका मोडलहरूले साइबर आक्रमणहरूलाई अझ बढी परिष्कृत बनाउँदै लगेको उसले औंल्याएको छ।
कुनै महत्वपूर्ण सेवा वा वित्तीय संस्थालाई असर गर्ने ठूलो आक्रमणले जनविश्वासलाई कमजोर बनाउन सक्ने र त्यसले बजारभरि छिटो असर पार्न सक्ने चेतावनी आईएमएफले दिएको छ। यसले तेस्रो पक्षीय प्रविधि विक्रेताहरूको कडा निगरानीसहित साइबर सुरक्षा क्षमता बढाउन नीति निर्माताहरूलाई आग्रह गरेको छ।
एआईको सुस्तता र ऋण बजारको कमजोरीले निम्त्याएको काल्पनिक मन्दीमा समेत बैंकहरूको पुँजीगत सुरक्षा मजबुत रहेको आईएमएफको तनाव परीक्षण (स्ट्रेस टेस्ट) मोडलले देखाएको छ।
तर, परीक्षणमा कुल विश्वव्यापी बैंकिङ सम्पत्तिको २२ प्रतिशत हिस्सा ओगटेका बैंकहरूको पुँजी स्तर कमजोर देखिएको भन्दै उसले यसअघिको सन् २०२५ को परीक्षणमा देखिएको १८ प्रतिशतको तुलनामा जोखिमका क्षेत्रहरू बाँकी रहेको चेतावनी दिएको छ।

















