२८ आश्विन २०८३, बुधबार

चुनौतीबीच सिद्धार्थ बैंकको बलियो छलाङ, आर्थिक वर्ष २०८२/८३ का लागि २० प्रतिशत लाभांश



सुस्त आर्थिक अवस्था र न्यून कर्जा विस्तारकाबीच सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्मकै उच्च २० प्रतिशत लाभांश प्रदान गरेको छ।

काठमाडाैँ । वित्तीय क्षेत्रमा देखिएका थुप्रै चुनौती र मन्दीका बाबजुद सिद्धार्थ बैंक लिमिटेडले आफ्ना साधारण शेयरधनीहरूका लागि निकै आकर्षक लाभांशको घोषणा गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट बैंकले कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

गत वर्षकाे नाफाबाट याे स्तरकाे लाभांश बाँड्ने सिध्दार्थ पहिलाे वाणिज्य बैंक हाे । अर्थात् याे सालका लागि सिध्दार्थ नम्बर १ लाभांश दिने वाणिज्य बैंक बनेकाे छ ।

बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले साधारण शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। यसका साथै, बैंकले अग्राधिकार शेयरधनीहरूका लागि पनि कर प्रयोजनसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अगाडि बढाएको छ।

बैंकबाट पारत गरिएको यो महत्वपूर्ण प्रस्ताव नेपाल राष्ट्र बैंकको औपचारिक स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

अहिलेको समग्र आर्थिक परिस्थिति हेर्दा बैंकिङ क्षेत्र सहज अवस्थामा छैन। बजारमा कर्जा विस्तार न्यून हुनु, विभिन्न किसिमका प्रतिस्पर्धात्मक दबाब बढ्नु र समग्र आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरूलाई दबाबमा पारेको छ।

यस्तो चुनौतीपूर्ण वातावरणका बीच सिद्धार्थ बैंकले ल्याएको २० प्रतिशतको लाभांश प्रस्तावलाई बजारमा विशेष चासोका साथ हेरिएको छ। हालसम्म वाणिज्य बैंकहरूले घोषणा गरेका लाभांशहरूको दाँजोमा यो दर सबैभन्दा उच्च रहेको छ।

यसले एकातर्फ बैंकको बलियो वित्तीय स्थिति देखाउँछ भने अर्कोतर्फ व्यवसाय गर्ने क्षमता र शेयरधनीप्रति बैंकले राखेको जिम्मेवारीबोधलाई प्रष्ट्याउँछ।

खुद नाफाको अवस्था

समीक्षा अवधिमा बैंकले आफ्नो वित्तीय जगलाई थप दरिलो बनाउन सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले करिब ३ अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको मुख्य पूँजी, जगेडा कोष र कुल नेटवर्थमा देखिएको राम्रो वृद्धिले यसको दीर्घकालीन स्थायित्व र आगामी दिनका व्यावसायिक सम्भावनाहरूलाई अझ उचाइमा पुर्‍याएको छ।

शेयरधनीहरूलाई हरेक वर्ष निरन्तर प्रतिफल दिँदै आएको परम्परालाई बैंकले यसपटक पनि कायम राखेको छ। विगत पाँच आर्थिक वर्षको तथ्यांक पल्टाएर हेर्दा बैंकले क्रमशः १३.१६ प्रतिशत, ४.२१ प्रतिशत, ४ प्रतिशत, १०.५३ प्रतिशत र अहिले २० प्रतिशत लाभांश प्रस्ताव गरेको देखिन्छ।

यो तथ्यांकले बैंकको आन्तरिक वित्तीय व्यवस्थापन कति बलियो छ र यसको मुनाफा वितरण गर्ने क्षमता कति दिगो छ भन्ने कुरा प्रष्ट पार्छ।

डिजिटल रूपान्तरण

सिद्धार्थ बैंकको सफलता केवल नाफा र लाभांश वितरणमा मात्र सीमित छैन। बैंकले पछिल्लो समय प्रविधिमा आधारित बैंकिङलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी प्रणाली तथा डिजिटल र भौतिक रूपका क्रेडिट कार्डमार्फत ग्राहकहरूलाई सरल र सुरक्षित सेवा दिइरहेको छ।

आधुनिक प्रविधिको अधिकतम् प्रयोग गरेर बैंकले आफ्ना सम्पूर्ण सेवाहरूलाई छरितो, प्रभावकारी र सबैको पहुँचयोग्य बनाउँदै लैजाने काम गरिरहेको छ।

संस्थागत सुशासन कायम गर्ने मामिलामा पनि बैंक उत्तिकै गम्भीर देखिएको छ। पारदर्शिता र नियामकीय परिपालनलाई बैंकले आफ्नो व्यावसायिक संस्कृतिको अभिन्न अङ्ग बनाएको छ।

जोखिमको समयमै मूल्यांकन गर्ने, आन्तरिक नियन्त्रण प्रणालीलाई कसिलो राख्ने, ग्राहकको हित संरक्षण गर्ने तथा उत्तरदायी बैंकिङ अभ्यास अवलम्बन गर्ने नीतिले नियामक निकाय, लगानीकर्ता र ग्राहकको नजरमा बैंकको विश्वसनीयतालाई धेरै माथि उठाएको छ।

ग्राहकको सन्तुष्टि र उनीहरूसँगको दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राखेर बैंकले ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढाएको छ। ग्राहकका आवश्यकता र अपेक्षाहरू बुझेर सोही अनुसार सेवा दिने परिपाटीले बैंक र उपभोक्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

वित्तीय सुदृढता, सुशासन र प्रविधिमैत्री सेवाको बलमा सिद्धार्थ बैंकले आगामी दिनमा पनि आफ्ना सरोकारवालाहरूका लागि दिगो मूल्य सिर्जना गर्दै नेपाली बैंकिङ क्षेत्रमा आफ्नो नेतृत्वदायी र जिम्मेवार भूमिकालाई अझ मजबुत पार्दै लैजाने विश्वास लिइएको छ।