२८ आश्विन २०८३, बुधबार

कोरला नाकाबाट भित्रिएका सवारी गन्तव्यमा पुर्याउनै सकस, हजारौँ इभी मुस्ताङमै रोकिए



काठमाडौँ। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमा रोकिएका छन्। असोज ११ गतेदेखि सडक प्रभावित भएपछि नेपाल भित्रिएका ती गाडी सम्बन्धित गन्तव्यमा पुर्‍याउन नसकिएको हो।

गत शुक्रबार साँझदेखि सडकमा यातायात सञ्चालन हुन थाले पनि मार्गको अवस्था अझै जोखिमपूर्ण र असहज रहेकाले विद्युतीय गाडीको ढुवानी सामान्य बन्न सकेको छैन। सडक पूर्ण रूपमा सहज नहुँदा कम्पनीका प्रतिनिधिहरूले सवारीसाधनलाई मुस्ताङमै पार्किङ गरेर राखेका छन्।

कोरलानाका र जोमसोममा गाडीको चाप

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला क्षेत्रमा र मुस्ताङ भन्सार कार्यालयको यार्डमा गरी दुई हजारभन्दा बढी विद्युतीय गाडी राखिएका छन्।

कोरलानाकास्थित सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी गाडी पार्किङमा छन् भने भन्सार यार्डमा थप दुई सयभन्दा बढी सवारीसाधन राखिएका छन्।

उनका अनुसार भन्सार जाँचपासपछि गाडीलाई भन्सार कार्यालयसम्म ल्याउने र त्यहाँबाट सम्बन्धित कम्पनीका चालकले व्यवस्थापन गर्ने गरेका छन्। नाकामा रहेका गाडीलाई आवश्यक प्रक्रिया पूरा गरी तलतर्फ पठाउन सहजीकरण भइरहेको उनले बताए।

यसैगरी, कोरलानाकाबाट भन्सार प्रक्रिया पूरा गरेर जोमसोम ल्याइएका पाँच सयभन्दा बढी विद्युतीय गाडी दुईवटा पार्किङस्थलमा राखिएका छन्। सडक सञ्चालनमा आए पनि सवारी आवागमन सहज नभएकाले ती गाडीलाई गन्तव्यसम्म पुर्‍याउन कठिनाइ भइरहेको बीवाईडी कम्पनीको खरिदकर्ता साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका बीवाईडीका विभिन्न मोडलका दुई हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन्। विशेषगरी साना सवारीसाधनलाई खराब सडकमा सुरक्षित रूपमा लैजान कठिन भएकाले जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङ क्षेत्रमा गाडी राखिएको उनले बताए।

तीन हजारभन्दा बढी विद्युतीय गाडी ल्याउने योजना

असोज ११ गतेअघि बीवाईडीका करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइसकिएको थियो। तर, त्यसपछि नेपाल भित्रिएका सवारीसाधनलाई बेनी–जोमसोम सडकको कमजोर अवस्थाका कारण ढुवानी गर्न समस्या भएको कम्पनीका प्रतिनिधिको भनाइ छ।

साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाका हुँदै तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल ल्याउने योजना बनाएको जनाएको छ। तर, सडकको अवस्थाले गर्दा गाडीको ढुवानी र व्यवस्थापनमा चुनौती थपिएको छ।

यसबीच कोरलानाकाबाट आयात भएका अन्य मालवस्तुको ढुवानी भने क्रमश: अघि बढिरहेको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म सामान बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। जिल्लामा रोकिएका कन्टेनर बाहिरिन थालेपछि थप सामान ढुवानी गर्न केही खाली कन्टेनर कोरलानाकातर्फ जान थालेको उनले जानकारी दिए।