सेयरधनीलाई मख्ख बनाउँदै सिद्धार्थ बैंक, विगत ५ वर्षमा कति दियो लाभांश ?
काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा उत्कृष्ट र भरपर्दो वाणिज्य बैंकका रूपमा स्थापित सिदार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांशमार्फत आकर्षक प्रतिफल प्रदान गरेको छ। बैंकले आफ्नो निरन्तरको वित्तीय सबलता र मुनाफालाई ध्यानमा राख्दै सेयरधनीहरूलाई हरेक वर्ष बोनस सेयर र नगद लाभांशको सन्तुलित मिश्रण प्रदान गर्दै आएको छ।
बुधवार बैंकको २५औँ वार्षिक साधारणसभा काठमाडौँको भाद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजीमा थप वृद्धि हुने भएको छ।
विगत ५ वर्षमा नगद र बोनस कति ?
सिद्धार्थ बैंक लिमिटेडले पछिल्ला पाँच आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्दै आकर्षक प्रतिफल प्रदान गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ। बैंकले बोनस सेयर र नगद लाभांशको माध्यमबाट सेयरधनीलाई प्रतिफल प्रदान गर्दै आएको हो। आर्थिक वर्ष २०७८/७९ मा १३.१६ प्रतिशत कुल लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७९/८० मा ४.२१ प्रतिशत र २०८०/८१ मा ४ प्रतिशत लाभांश दिएको थियो।
त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा १०.५३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ।
पछिल्लो वर्षमा लाभांश दरमा भएको वृद्धि लोभलाग्दो देखिएको छ।। विशेषगरी पछिल्लो आर्थिक वर्षमा कुल लाभांश दर २० प्रतिशत पुगेपछि बोनस सेयरमार्फत पुँजी वृद्धि र नगद लाभांशमार्फत प्रत्यक्ष प्रतिफल दुवै प्राप्त गर्ने अवसर सेयरधनीहरुलाई सिद्धार्थ बैंकले दिएको छ।
सिद्धार्थ बैंकको पाँच वर्षको लाभांश विवरण :
| आर्थिक वर्ष | बोनस सेयर | नगद लाभांश | कुल लाभांश |
|---|---|---|---|
| २०७८/७९ | १२.५०% | ०.६६% | १३.१६% |
| २०७९/८० | – | ४.२१% | ४.२१% |
| २०८०/८१ | – | ४.००% | ४.००% |
| २०८१/८२ | ५.००% | ५.५३% | १०.५३% |
| २०८२/८३ | १०.००% | १०.००% | २०.००% |

















