फोनपे अनर्सबाट काठमाडौं फिन्टेक सम्मानित, डिजिटल अर्थतन्त्रमा योगदानको कदर
नेपालको फिन्टेक इकोसिस्टम र डिजिटल रूपान्तरणमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै काठमाडौं फिन्टेकलाई ‘फोनपे अनर्स’ प्रदान गरिएको छ।
काठमाडाैँ । नेपालको वित्तीय प्रविधि अर्थात् फिन्टेक क्षेत्रको विकास र विस्तारमा सक्रिय रहँदै आएको काठमाडौं फिन्टेक एक प्रतिष्ठित सम्मानबाट विभूषित भएको छ।
डिजिटल भुक्तानीको क्षेत्रमा अग्रणी मानिने फोनपेले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं फिन्टेकलाई ‘फोनपे अनर्स’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टु फिन्टेक इकोसिस्टम डेभलपमेन्ट’ विधाबाट सम्मानित गरिएको हो। स्थापना कालदेखि नै बैंकिङ तथा वित्तीय संस्था, नियमनकारी निकाय र सरोकारवालाहरूबीच ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि संस्थाले खेल्दै आएको भूमिकालाई यो सम्मानले विशेष मान्यता दिएको छ।
‘फिन्टेक विथ के फर नलेज’ अर्थात् ज्ञानका लागि भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढेको यो संस्था छोटो समयमै डिजिटल वित्तीय रूपान्तरणको एक बलियो सारथि बनेको छ। बैंक तथा वित्तीय संस्थाहरूका साथै विभिन्न प्रविधि कम्पनीहरूलाई लक्षित गरेर तालिम, कार्यशाला, अनुसन्धान र परामर्श सेवा प्रदान गर्दै आएको छ।
विशेष गरी नेपालको बैंकिङ क्षेत्रमा देखिएको प्राविधिक परिवर्तन र डिजिटल युगका आवश्यकताहरूलाई मध्यनजर गर्दै जनशक्ति तयार पार्न संस्थाले पुर्याएको योगदान उल्लेखनीय रहेको छ।
सम्मान ग्रहण गरेसँगै संस्थाका संस्थापक सञ्जिब सुब्बाले यो सफलता आफ्नो मात्र नभई समग्र बैंकिङ समुदाय, नियमनकारी निकाय, साझेदार संस्था र सञ्चारमाध्यमको संयुक्त प्रयासको भएको बताए। पुरस्कार वा प्रशंसाका लागि भन्दा पनि देशको वित्तीय क्षेत्रलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको उनको भनाइ थियो।
प्रविधिको तीव्र विकाससँगै आउने अवसर र चुनौतीहरूको सामना गर्न सक्ने सक्षम डिजिटल नेतृत्व तयार पार्नु नै आगामी दिनमा आफ्नो प्रमुख प्राथमिकता रहने उनले प्रस्ट पारे। यो सम्मानले आफूहरूलाई थप जिम्मेवार भएर अघि बढ्न ठूलो प्रेरणा दिएको उनको भनाइ छ।
आगामी दिनमा पनि नेपालको फिन्टेक इकोसिस्टमलाई थप सबल, सुरक्षित र प्रविधिमैत्री बनाउन आफ्नो संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाइएको छ। आधुनिक बैंकिङ प्रणालीका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन र अनुसन्धानका क्षेत्रमा नयाँ आयाम थप्दै जाने संस्थाको योजना छ।
नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ डोर्याउन आवश्यक पर्ने नीतिगत बहस, व्यावहारिक तालिम र सहकार्यका क्षेत्रमा काठमाडौं फिन्टेकले आफ्नो उपस्थिति अझै प्रभावकारी बनाउने तयारी गरिरहेको छ।

















