विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो
काठमाडाैँ । नेपालको विदेशी मुद्रा सञ्चिति २०८३ भदौ मसान्तमा रु. ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको थियो। यसअनुसार दुई महिनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २६ अर्ब ४८ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ। सञ्चितिमा भएको वृद्धिले देशको बाह्य भुक्तानी क्षमता र आयात धान्न सक्ने अवस्थाबारे जानकारी दिन्छ।
राष्ट्र बैंकका अनुसार विद्यमान विदेशी मुद्रा सञ्चितिले वस्तु आयातलाई २०.९ महिना र वस्तु तथा सेवा आयातलाई १७.८ महिनासम्म धान्न पर्याप्त हुने देखिएको छ। आयात धान्ने अवधिका आधारमा विदेशी मुद्रा सञ्चितिको अवस्था मूल्याङ्कन गरिन्छ।
विदेशी मुद्रा सञ्चिति विप्रेषण, निर्यात, विदेशी लगानी, पर्यटनलगायतका माध्यमबाट प्राप्त विदेशी मुद्रा र बाह्य भुक्तानीको अवस्थासँग सम्बन्धित हुन्छ। सञ्चिति बढ्नु बाह्य क्षेत्रका लागि सकारात्मक सूचक मानिए पनि यसको दीर्घकालीन अवस्था कायम राख्न निर्यात, उत्पादन, सेवा आय र विदेशी लगानीको प्रवाह महत्त्वपूर्ण हुन्छ।



















