२९ आश्विन २०८३, बिहिबार

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट



काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि. बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स- प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट योजना लागु हुने छैन ।

अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ । स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कोषको परिचयपत्रका आधारमा

कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ । दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।