३० आश्विन २०८३, शुक्रबार

ओटिसी बजारमा बढ्दै आकर्षण : नेप्से बाहिरका कम्पनीहरूको कारोबार साढे ५ अर्ब नाघ्यो



काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को औपचारिक सूचीमा नरहेका तर वैकल्पिक रूपमा सेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस बजारमार्फत भएको कुल कारोबारले साढे ५ अर्ब रुपैयाँ नाघेको छ।

गत आर्थिक वर्षमा जलविद्युत, सूचना प्रविधि, औषधि तथा ब्रोकर कम्पनीहरूको उच्च सहभागिताका कारण ओटिसी बजारले ऐतिहासिक कारोबार रेकर्ड बनाएको हो। तथ्यांकअनुसार यस अवधिसम्म ओटिसी बजारमा कुल २ करोड ५ लाख ५३ हजार १९७ कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल ५ अर्ब ६२ करोड़ ४४ लाख ७२ हजार ५०० रुपैयाँ बराबरको कारोबार भएको छ।

मुख्य बजारको दायरा बाहिर रहेका सार्वजनिक लिमिटेड कम्पनीहरूका लागि ओटिसी बजार एक भरपर्दो वैकल्पिक मञ्चका रूपमा स्थापित हुँदै गएको छ। नेप्सेमा सूचीकरण हुन आवश्यक नियम, प्रक्रिया वा मापदण्ड पूरा गर्न नसकेका तर बलियो व्यावसायिक आधार तथा सम्भावना बोकेका कम्पनीहरूको सेयर स्वामित्व हस्तान्तरणका लागि यो बजार निकै प्रभावकारी छ।

विशेषगरी नयाँ उदीयमान क्षेत्रहरू जस्तै डिजिटल भुक्तानी सेवाप्रदायक, ठूला जलविद्युत आयोजना, उत्पादनमूलक उद्योग र ब्रोकर कम्पनीहरूले आफ्ना संस्थापक वा लगानीकर्ताबीचको सेयर खरिद-बिक्री सहज बनाउन यसै बजारको प्रयोग गर्दै आएका छन्। मुख्य बजारमा सूचीकृत नभएका कारण बजारको कानुनी दायराभित्र रहेर पनि आपसी कारोबार सुरक्षित रूपमा सम्पन्न गर्न पाइने हुँदा लगानीकर्ताहरूको विश्वास यसप्रति दिनानुदिन गहिरिँदै गएको पाइन्छ।

के हो ओटीसी बजार ? कसरी हुन्छ कारोबार ?

ओटीसी बजार भनेको धितोपत्र बजारको औपचारिक सूचीकरणका सम्पूर्ण सर्तहरू पूरा नगरेका सार्वजनिक लिमिटेड कम्पनीहरूको सेयर किनबेच गर्ने वैकल्पिक व्यवस्था हो। सामान्यतया नेप्सेमा सेयर कारोबार गर्न निश्चित नियम, पारदर्शी मापदण्ड र प्रक्रियाहरू पूरा गर्नुपर्छ। तर, जुन कम्पनीहरू नेप्सेमा सूचीकृत छैनन् वा सूचीकृत हुन चाहँदैनन्, त्यस्ता कम्पनीका संस्थापक वा साधारण सेयरधनीहरूले आपसी सहमतिमा सेयर किनबेच गर्नका लागि यो बजार प्रयोग गर्छन्।

यस बजारमा कारोबार गर्नका लागि सर्वप्रथम सेयर किनबेच गर्न चाहने क्रेता र बिक्रेता वा सम्बन्धित कम्पनीले नियमानुसार आवश्यक कागजातसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिनुपर्छ। त्यसपश्चात नेप्सेले दुवै पक्षको कागजात र सेयर स्वामित्व रुजु गरेर विधिवत् रूपमा सेयर स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाउने गर्दछ। यसरी हुने कारोबारमा सेयरको मूल्य मुख्य बजारको जस्तो नियमित नभई क्रेता र बिक्रेताबीचको आपसी समझदारी वा कम्पनीको वित्तीय अवस्थाको आधारमा तय हुने गर्दछ।

नेप्सेको नियमित कारोबार प्रणालीभन्दा बाहिर रहेर पनि कानुनी दायराभित्रै रही सेयरको स्वामित्व सुरक्षित रूपमा हस्तान्तरण गर्न चाहने लगानीकर्ता तथा कम्पनीहरूका लागि ओटीसी बजार एक सुरक्षित र प्रभावकारी माध्यम बन्दै गएको छ।