३० आश्विन २०८३, शुक्रबार

दशैँका चार दिन उपत्यकाको फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह



बडादशैँका मुख्य दिनहरूमा सराइ कर्मचारी बिदामा रहने भएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिनका लागि प्रभावित हुने भएको छ।

काठमाडाैँ । दशैँको उमङ्ग र चहलपहलसँगै राजधानीवासीका लागि फोहोर व्यवस्थापनको अर्को चुनौती थपिएको छ।

बडादशैँको मुख्य दिनहरूमा सरसफाइ कर्मचारीसमेत पर्व मनाउन जाने भएपछि आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको फोहोर विसर्जन कार्य प्रभावित हुने भएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै तोकिएको चार दिनसम्म अन्तिम विसर्जनस्थल बञ्चरेडाँडामा फोहोर बोकेका गाडीहरू लैजान नसकिने स्पष्ट पारेको छ।

चाडपर्वका बेला सेवा अवरुद्ध हुँदा सहरको सौन्दर्य र स्वच्छतामा असर नपरोस् भनी महानगरपालिकाले विशेष सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेको छ।

विशेष गरी चाडपर्वको समयमा घरायसी तथा व्यावसायिक फोहोरको मात्रा बढ्ने हुनाले नागरिकहरूले आफ्नै स्तरबाट पनि व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध

फोहोर सङ्कलन नियमित नहुने चार दिनको अवधिमा उत्पन्न हुने फोहोरलाई जथाभावी सडक वा सार्वजनिक स्थानमा नफाल्न महानगरपालिकाले अनुरोध गरेको छ। वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले नागरिकहरूलाई आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गर्न आग्रह गरिन्।

उनका अनुसार फोहोरलाई कुहिने र नकुहिने वर्गमा छुट्याएर छुट्टाकुट्टै रूपमा सुरक्षित ढङ्गले राख्नुपर्छ। सम्भव भएसम्म आफ्नै घर वा कम्पाउन्डभित्र त्यसको व्यवस्थापन गर्न र कात्तिक ४ गतेसम्म धैर्य गर्न महानगरले अपिल गरेको छ।

तोकिएको चार दिनको अवधिबाहेक अन्य दिनहरूमा भने फोहोर सङ्कलन तथा विसर्जन कार्य नियमित रूपमा नै सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।