पौराणिक कथाभन्दा गहिरो छ दशैँको पाटो, किन मनाइन्छ यो महान् पर्व?
दशैँलाई केवल धार्मिक वा सांस्कृतिक पर्वका रूपमा मात्र होइन, कृषि, प्रकृति र विज्ञानसँग जोडिएको एक मौलिक जीवनपद्धतिका रूपमा नयाँ ढङ्गले बुझ्नुपर्ने समय आएको छ।
काठमाडाैँ । दसैँ भन्नेबित्तिकै सामान्यतया मासु खाने, नयाँ लुगा लगाउने र आफूभन्दा ठूलाबाट टीका तथा आशीर्वाद थाप्ने पर्वका रूपमा मात्र बुझ्ने गरिएको छ। तर यसको दायरा यतिमा मात्र सीमित छैन।
यसभित्र प्रकृति, कृषि र मानवजीवनबीचको गहिरो अन्तरसम्बन्ध लुकेको छ, जसलाई नजिकबाट नबुझी यसको वास्तविक मर्म थाहा पाउन सकिँदैन। शब्दको व्युत्पत्तिलाई हेर्दा दशैँ शब्द अङ्क दश (१०) बाट बनेको मानिन्छ।
गाउँघरका मानिसहरूले वर्षको अधिकांश समय खेतीकिसानीमा कडा परिश्रम गर्छन्। निरन्तरको यो खटाईले शरीर र मनलाई थकान दिन्छ। यही थकानलाई मेट्न र प्रकृतिका साथै जिवात्मालाई विश्राम दिन यो पर्व मनाउने परम्परा बसको पाइन्छ।
दशैँलाई राम र रावणको युद्धसँग जोडेर मात्र हेर्ने प्रचलन पनि छ। तर यसलाई केवल एउटा पौराणिक युद्धको विजयभन्दा पनि प्रकृतिको चक्रसँग जोडेर हेर्नुपर्ने हुन्छ। वर्षभरि अन्नबाली उब्जाउने क्रममा प्रकृतिले पनि यस बेला विश्राम पाउँछ भने किसानहरू पनि वर्षभरिको श्रमपछि केही फुर्सदिला हुन्छन्।
बाह्रै महिना मिहिनेत गरेर अन्नबाली भित्र्याउने बेलाको यो समय मानिसले प्रकृतिमाथि गरेको विजयको खुसीयाली हो। यसैकारण यसलाई विजयादशमी भनिएको हो। यस बेला खेतबारीमा बाली पाक्न थाल्छ र मानिसहरू आपसी मेलमिलापका साथ एक ठाउँमा जम्मा भएर खुसी साटासाट गर्छन्।
वैज्ञानिक महत्त्व
दशैँमा लगाइने विभिन्न रङ्गका टीका र जमराको पनि आफ्नै वैज्ञानिक र सांस्कृतिक महत्त्व छ। हामीले जमराका रूपमा उमार्ने जौ र गहुँ स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छन्। अनुसन्धानहरूले समेत जमराको रस नियमित रूपमा पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्ने र विभिन्न शारीरिक समस्याहरूमा राहत मिल्ने कुरा पुष्टि गरेका छन्।
त्यस्तै, निधारमा लगाइने टीका र चन्दनले मस्तिष्कको तापक्रमलाई सन्तुलित राख्न र मनलाई शीतल बनाउन सहयोग गर्छ। शरीरको महत्त्वपूर्ण नाडी र ज्ञानको प्रवाहक मानिने स्थानमा टीका लगाउने परम्पराले मानसिक एकाग्रता र ऊर्जा प्राप्त गर्न मद्दत पुर्याउँछ।
दशैँको समयमा गरिने विभिन्न देवीहरूको पूजाआराधनालाई मानिसको आन्तरिक ऊर्जा र मानसिक शुद्धिसँग जोडेर हेर्न सकिन्छ। नौ दिनसम्म गरिने साधनाले मनको अस्तव्यस्ततालाई हटाएर एकाग्रता प्रदान गर्छ। यसलाई प्राचीन कालदेखि नै धर्मसँग जोडेर निरन्तरता दिँदै आइएको छ ताकि यसको महत्त्व पुस्तान्तरण भइरहरोस्।
इतिहासका पाना पल्टाउँदा यो पर्व करिब ६ हजार वर्ष पुरानो पूर्वीय सभ्यतादेखि नै विभिन्न स्वरूपमा अभ्यास हुँदै आएको अनुमान गरिन्छ। यसरी हेर्दा दशैँ केवल चाडपर्व मात्र नभई समाजलाई जोड्ने, पारिवारिक सम्बन्ध प्रगाढ बनाउने र प्रकृतूप्रति कृतज्ञता व्यक्त गर्ने एक सुन्दर अवसर हो।















