सानो बचतलाई ठूलो पुँजीमा रूपान्तरण गर्ने एसआईपी के हो ? कसरी बढ्छ पैसा ?
काठमाडौँ। व्यक्तिको आर्थिक स्तर सुधारका लागि हाल विश्वभर विभिन्न लगानीका अवधारणाहरू अभ्यासमा छन्। जसमध्ये सिस्टिमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) हालको समयमा सर्वाधिक लोकप्रिय र भरपर्दो लगानीको माध्यम बनेको छ।
ठूलो पुँजी वा एकमुष्ठ रकम नभएका तर नियमित बचतबाट भविष्य सुरक्षित गर्न चाहनेहरूका लागि एसआईपीलाई उत्तम विकल्पका रूपमा लिइन्छ।
म्युचुअल फन्डमा थोरै थोरै गरेर लगानी गर्न सकिने हुँदा कम आम्दानी हुने वा भर्खरै कमाउन सुरु गरेका व्यक्तिहरूले पनि यसमा सजिलै सहभागिता जनाउन सक्छन्। यसले लगानीकर्तालाई कुनैपनि किसिमको आर्थिक बोझ नदिएरै अनुशासित ढङ्गले पुँजी वृद्धि गर्न सघाउँछ।
के हो एसआईपी योजना र यसले कसरी काम गर्छ ?
एसआईपी एक त्यस्तो लगानी प्रणाली हो, जस अन्तर्गत कुनै पनि व्यक्तिले निश्चित रकम आफूलाई अनुकूल पर्ने खुलामुखी म्युचुअल फन्ड योजनामा नियमित अन्तरालमा (साप्ताहिक, मासिक, त्रैमासिक वा वार्षिक रूपमा) लगानी गर्न सक्छन्।
एकैपटक धेरै पैसा बजारमा हाल्नुको साटो निश्चित समयमा थोरै थोरै रकम लगानी गर्दा यसले बजारको औसत लागतको फाइदा दिन्छ।
अर्थात्, सेयर बजार घटेको बेला कम मूल्यमा धेरै इकाइहरू र बजार बढेको बेला कम इकाइहरू खरिद हुन्छन्, जसले दीर्घकालमा जोखिम कम गर्छ।
नेपालमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईएमबी एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनएमबि क्यापिटल लगायतका विभिन्न क्यापिटलमार्फत यस्ता खुलामुखी म्युचुअल फन्ड योजनाहरू सञ्चालनमा छन्।
लगानीकर्ताले यी क्यापिटलहरूको आधिकारिक वेबसाइट वा पोर्टलबाटै न्यूनतम रूपैयाँबाटै एसआईपी यात्रा सुरु गर्न सक्छन्।
कसरी बढ्छ पैसा ?
एसआईपी योजनाको सबैभन्दा ठूलो आकर्षण भनेको यसले चक्रवर्ती ब्याज वा कम्पाउन्डिङको सिद्धान्तमा काम गर्नु हो। पहाडको टुप्पोबाट तल खसिरहेको हिउँको डल्लोले बाटोमा थप हिउँ बटुलिंदै जाँदा आकारमा ठूलो हुँदै गएजस्तै, एसआईपीमा तपाईंको लगानी र त्यसबाट प्राप्त प्रतिफलमाथि पनि पुन: प्रतिफल जोडिंदै जान्छ।
सजिलो भाषामा भन्नुपर्दा, मूल लगानी रकम र त्यसले कमाएको मुनाफा दुवैमाथि थप लाभ प्राप्त हुने प्रक्रिया नै कम्पाउन्डिङ हो। उदाहरणका लागि, यदि तपाईंले नियमित रूपमा मासिक वा वार्षिक रूपमा कुनै एसआईपी योजनामा लगानी गर्दै जाँदा दीर्घकालीन रूपमा कम्पाउन्डिङको लाभ लिनुभयो भने तपाईंको सानो बचत पनि एउटा ठूलो पुँजीमा रूपान्तरण हुन्छ।
बजारका विभिन्न विश्लेषणहरूका अनुसार, दीर्घकालीन रूपमा व्यवस्थित लगानी गर्दा यसले साधारण बचत वा मुद्दती खाताभन्दा राम्रो प्रतिफल दिन सक्ने सम्भावना हुन्छ।
लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू
एसआईपी सुरक्षित र लाभदायक मानिने भए तापनि यसमा वित्तीय बजारका आफ्नै किसिमका जोखिमहरू पनि जोडिएका हुन्छन्। म्युचुअल फन्डहरूले संकलित रकम नेपाल स्टक एक्सचेन्जका विभिन्न सूचीकृत कम्पनीहरूको सेयर, डिबेन्चर तथा बैंक निक्षेपमा छरिएर लगानी गर्छन्।
कम्पनी वा समग्र सेयर बजारमा आएको मन्दीका कारण फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्न सक्छ, जसले गर्दा छोटो अवधिको लागि लगानी गर्दा घाटा हुन सक्ने वा प्रतिफल नकारात्मक हुने सम्भावना उत्तिकै हुन्छ।
एसआईपी भनेको छोटो अवधिमै धनी बन्ने योजना होइन। कम्पाउन्डिङ र बजारको चक्रबाट अधिकतम लाभ लिन कम्तीमा ५ देखि १० वर्ष वा सोभन्दा बढी अवधिका लागि लगानीलाई निरन्तरता दिनु आवश्यक हुन्छ।
बीचमै लगानी नरोकी नियमित रूपमा किस्ता तिर्दै जाने अनुशासनले मात्र एसआईपीको वास्तविक उद्देश्य पूरा गर्न सक्छ।
तसर्थ, आफ्नो आर्थिक सामथ्र्य र जोखिम बहन गर्न सक्ने क्षमतालाई राम्ररी बुझेर सम्बन्धित क्यापिटलको विवरण पत्र अध्ययन गरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्नु नै बुद्धिमानी हुन्छ।















