१ कार्तिक २०८३, आइतबार

दशैँमा ‘भेजिटेरियन’ले के खाने ? यी हुन् मुखै रसाउने शाकाहारी परिकार



बडादशैँमा मासुको बाहुल्यताबीच शाकाहारीहरूका लागि चिन्ता होइन, स्वाद र स्वास्थ्यको अनौठो उत्सव बन्न सक्छ। पिरो-पिरो च्याउदेखि मखमली पनिर र घरमै युट्युब हेरेर बनाउन सकिने रेस्टुरेन्ट शैलीका परिकारले यसपटकको दशैँलाई अझै रमाइलो र पौष्टिक बनाउनेछन्।

काठमाडाैँ । दशैँ भन्नासाथ हाम्रो मानसपटलमा निधारमा लगाइने रातो अक्षता, आशीर्वाद दिइरहेका ठूलाबढाको मुहार र भान्सामा पाक्ने मासुको परिकार नै अगाडि आउँछ।

‘वर्षमा एकपटक राम्रो लाउने, मीठो खाने’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै नेपाली समाजमा दशैँलाई मिष्ठान्न भोजन र विशेष गरी मासुसँग जोडेर हेर्ने परम्परा लामो समयदेखि चलिआएको छ।

संसारमा सभ्यताकाे विकास हुनुभन्दा पहिले ढुंगे युगमा मानिसहरू जंगलका जनावरकाे मासु, गिठ्ठा-भ्याकुर जस्ता जंगली खानामा निर्भर थिए । त्यस बेला उनीहरूले ठूलाे सिकार फेला पारे वा वर्षात भयाे वा यस्तै केही उल्लेखनीय घटना भयाे भने भाेज गर्थे । संसारमा चार्डपर्वकाे थालनी पनि यस्तै सामुहिक भाेजबाट भयाे ।

मासुकाे परिकार खाएर उत्सव मननाउने याे परम्परा पनि त्यही प्राचीन मानव इतिहाससँग जाेडिएकाे हुनसक्ने अड्कल काट्न सकिन्छ । तर पछि कृषि युगकाे सुरू भएसँगै मानिसहरू माछामासु खान छाडेर साकाहारी बन्न थाले । भारतीय उपमहाद्वीपमा ध्यान साधना गर्ने व्राह्मणहरूले मासुकाे सेवनबाट साधनामा असर पर्ने जाने ।

अर्कातिर गंगा मैदानकाे गर्मीमा मासु अपच हुने र यसले शरीरमा विकार तत्व बढाउने गरेकाे देखे । पृथ्वीकै सबैभन्दा ठूलाे खेतियाेग्य समथर भूभाग भएका कारण यहाँ खुब अन्नपात फल्न थाल्याे । मानिसलाइ अस्वस्थकर मासु खानुपर्ने बाध्यता पनि हट्याे । यही कारण मानिसहरूमा मासु नखाने अर्थात् साकाहारी लहर देखिन थाल्याे ।

धार्मिक अभियानहरूले पनि मानिसलाइ संवेदनशील बनाउन मांसाहारी भाेजन नगर्न सुझाए । यस्ता कारणले साकाहारी बनेकाे मावन इतिहासलाइ पच्छ्याउने थुप्रै नेपाली छन् । उनीहरू दशैँमा मासुका परिकार चाख्दैनन् । उनीहरूलाइ दशैँमा के खाने र के खुवाउने भन्ने सधैँकाे चासाे रहन्छ ।

वर्षभरिको थकान र दुःखलाई बिर्सिएर आफन्तसँग रमाइलो गर्ने, मान्यजनको हातबाट टीका थाप्ने र मिठा परिकारमा रम्ने यो महान् पर्वमा मासुलाई मुख्य भोजनको रूपमा ग्रहण गर्नेहरूको संख्या ठूलै छ।

तर, समाजको एउटा ठूलो हिस्सा यस्तो पनि छ, जसले मासु छप्काउँदैनन् वा शाकाहारी (भेजिटेरियन) जीवनशैली अपनाउँछन्। यस्तो अवस्थामा, घरमा पाहुनाको भिडभाड र जताततै मासुका परिकार पाक्ने चाडपर्वका बेला शाकाहारीहरूले के खाने त ? भन्ने प्रश्न कतिपयका लागि गम्भीर चिन्ता र अन्योलको विषय पनि बन्न सक्छ।

परिवारमा अरूले मासुको स्वाद लिइरहँदा भेजिटेरियनहरू खिन्न हुनुपर्ने अवस्था आउन नदिन अलिकति सिर्जनशीलता अपनाउन सकिन्छ।

यद्यपि, मासु नखाँदैमा वा शाकाहारी हुँदैमा दशैँको उमङ्ग र रमाइलोमा कुनै कमी आउँदैन। बरु नेपाली र आधुनिक रेस्टुरेन्ट शैलीका मिठा परिकारहरूलाई समेटेर यसपटकको दशैँलाई निकै तामझाम र स्वादिलो ढङ्गले सेलिब्रेसन गर्न सकिन्छ।

भान्सामा मिसाउने स्वाद: पनिर, च्याउ र टोफुको जादु

दशैँको विशेष भोजमा मासुको विकल्प खोज्दै हुनुहुन्छ भने बजारमा सजिलै पाइने पनिर र च्याउ तपाईंका पहिलो रोजाइ हुन सक्छन्। घरमै युट्युब वा अनलाइनका विभिन्न भिडियो हेरेर रेस्टुरेन्टको झल्को दिने शाही पनिर, कढाई पनिर, मटर पनिर वा पनिर टिक्का मसला तयार पार्न सकिन्छ।

त्यसैगरी, चिल्लो र मसलादार स्वाद मन पराउनेका लागि च्याउको छोयला, मसरुम बटर मसाला वा चिली मसरुम जस्ता परिकारले मासुको खसखस नै मेटाइदिन्छ।

सोयाबिनबाट बन्ने सोया चङ्क करी वा आजकल सहरिया भान्सामा लोकप्रिय बन्दै गएको टोफुलाई विभिन्न मसला हालेर बनाइएका परिकारले भोजको रौनकलाई शतप्रतिशत माथि उठाउँछ।

गेडागुडीका परिकार र तागतिलो क्वाँटी

हाम्रो नेपाली संस्कृतिमा गेडागुडीको ठूलो महत्त्व छ। दशैँको समयमा सबै किसिमका गेडागुडी- जस्तै सिमी, चना, मटर, केराउ, राजमा मिसाएर बनाइएको मिश्रित क्वाँटी वा बाक्लो ग्रेभी भएको गेडागुडीको तरकारी शरीरका लागि मात्र नभई स्वादका हिसाबले पनि बेजोड हुन्छ।

यसमा कुरिलो मिसाएर बनाइएको तरकारीले त पाहुनाको समेत मन लोभ्याउँछ।

खीर, सेल र हलुवा

नेपाली चाडपर्व, त्यसमाथि पनि दशैँ मीठा परिकारबिना कल्पना गर्न सकिँदैन। दुधमा मज्जाले सिवाई र बदाम, काजुजस्ता ड्राइफ्रुट्स राखेर पाकेको सिवाई, घिउ र चामलको सुवास आउने परम्परागत खीर, चामलको पिठोबाट बनाइने सुनौला सेलरोटी, विभिन्न फलफूलका हलुवा र सुजीको खाइरहो लाग्ने हलुवा भान्सामा पाक्दा घरै मगमगाउँछ।

साथै, भोजनका साथमा शुद्ध गाईको घिउ, दुध, दही, मोही र विभिन्न मौसमी फलफूलहरू- जस्तै नासपाती, केरा, सुन्तला, स्याउ, अङ्गुर आदिलाई सलाद वा डेजर्टको रूपमा समावेश गर्दा खानपान पूर्ण र सन्तुलित बन्छ।

स्वास्थ्यको लागि फाइदै फाइदा

मांसाहारको तुलनामा शाकाहारी भोजनलाई सधैँ उच्च कोटीको र स्वास्थ्यवर्दक मानिन्छ। शाकाहारी व्यक्तिहरू प्रायः दीर्घरोगबाट मुक्त, निरोगी, स्वस्थ र फुर्तीलो देखिन्छन्।

शरीरलाई आवश्यक पर्ने मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल्स र आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु जीवनकै लागि निकै फाइदाजनक रहने स्वास्थ्यविद्हरू बताउँछन्।

शाकाहारी भोजनले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत मानिसलाई शान्त र तन्दुरुस्त राख्ने गर्छ।

  • भरपुर मिनरल्स र सलाद: तरकारीमा प्राकृतिक मिनरल्स भरपुर मात्रामा हुन्छ। गाजर, मुला, काँक्रालाई सलादको रूपमा सेवन गर्दा पाचन शक्ति बलियो हुन्छ।
  • भिटामिनयुक्त मौसमी फलफूल: फलफूलमा पाइने भिटामिन र अन्य पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्।
  • ड्राइफ्रुट्सको शक्ति: बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर र क्याल्सियम प्रचुर पाइन्छ, जसले शरीरलाई तत्काल ऊर्जा दिन्छ।
  • हरियो सागपातको जादु: हरियो सागपात नियमित प्रयोग गर्दा यसमा पाइने फोलिक एसिडले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ। यसबाट हड्डी बलियो बनाउने क्याल्सियम र मिनरल्स पनि सहजै प्राप्त हुन्छ।

यसपालिको दशैँमा मासु मात्रै विकल्प होइन भन्ने सोचका साथ आफ्नै भान्सामा सिर्जनशील बनौँ, स्वास्थ्य र स्वाद दुवैको ख्याल राख्दै परिवारसँग हर्सोल्लासका साथ शाकाहारी परिकारको आनन्द लिऔँ। सम्पूर्ण भेजिटेरियनहरूका लागि दशैँको मंगलमय शुभकामना!