दसैँको फुर्सदमा विश्व अर्थतन्त्र बुझौँ, हेर्नैपर्ने पाँच ‘आर्थिक डकुमेन्ट्री’
काठमाडौं । दसैँ भनेको परिवारसँग भेटघाट गर्ने, टीका–जमरा लगाउने, मीठो खाने र रमाइलो गर्ने पर्व हो।वर्षभरि व्यस्त रहने मानिसका लागि दसैँको लामो बिदा आराम र मनोरञ्जनको अवसर पनि हो। तर, यही फुर्सदलाई केही नयाँ कुरा सिक्ने अवसर बनाउने हो भने दसैँ अझ अर्थपूर्ण बन्न सक्छ।
दसैँमा नयाँ कपडा किनिन्छ। मीठो खानेकुरा बनाइन्छ।आफन्त भेटिन्छन्।घुम्न गइन्छ। रमाइलो गरिन्छ।यी सबै दसैँका सुन्दर पक्ष हुन्।तर, यही दसैँको फुर्सदबाट केही घण्टा निकालेर विश्व कसरी चलिरहेको छ ? पैसा कसरी चल्छ ? बैंक कसरी काम गर्छ? आर्थिक संकट किन आउँछ ? धनी र गरिबबीचको दूरी किन बढ्छ ? सरकार र बजार बीचको सम्बन्ध के हो ? जस्ता प्रश्नको उत्तर खोज्ने हो भने त्यो पनि दसैँ मनाउने एउटा फरक तरिका हुन सक्छ।परिवारसँग बसेर टीका–जमरा लगाऔँ, आफन्तसँग रमाऔँ, गाउँघर घुमौँ । तर, फुर्सदको केही समय आफ्नो भविष्य र विश्वको अर्थतन्त्र बुझ्न पनि खर्च गरौँ।
कोही दसैँमा गाउँ फर्किन्छन् । कोही घुम्न निस्किन्छन् । कोही पुस्तक पढ्छन्। त्यस्तै विश्व अर्थतन्त्र, पैसा, बैंकिङ, ऋण, पुँजीवाद र आर्थिक संकट कसरी चल्छ भन्ने जान्न चाहनेहरूका लागि केही उत्कृष्ट डकुमेन्ट्री हेर्ने अवसर पनि यही बिदामा निकाल्न सकिन्छ। यहाँ प्रस्तुत पाँच डकुमेन्ट्रीले विश्वको अर्थतन्त्रलाई फरक–फरक कोणबाट बुझ्न मद्दत गर्छन्।
इन्साइड जब
इन्साइड जब (Inside Job) सन् २०१० मा निर्माण भएको चर्चित आर्थिक डकुमेन्ट्री हो। यसको निर्देशन तथा लेखन चार्ल्स फर्ग्युसन (Charles Ferguson) ले गरेका हुन्।
निर्माणमा अड्री मार्स (Audrey Marrs) लगायतको टोली संलग्न छ भने म्याट डेमन (Matt Damon) ले वाचकका रूपमा आवाज दिएका छन्। यो डकुमेन्ट्री मुख्यतः सन् २००८ मा विश्वभर ठूलो आर्थिक संकट निम्त्याउने फाइनान्सियल क्राइसिस अर्थात् वित्तीय संकट कसरी उत्पन्न भयो भन्ने विषयमा केन्द्रित छ।यसले बैंक तथा वित्तीय संस्थाहरू, लगानी बजार, सरकारी नियमन र आर्थिक नीतिबीचको सम्बन्धलाई खोतल्छ।
साधारण भाषामा भन्नुपर्दा इन्साइड जब बैंकले जोखिमपूर्ण लगानी किन गरे ? ठूला वित्तीय संस्थाहरू कसरी समस्यामा परे ? सरकार र नियामक निकायको भूमिका के थियो ? र त्यसको असर सामान्य मानिसको जीवनसम्म कसरी पुग्यो ? भन्ने जस्ता प्रश्नको उत्तर खोज्ने प्रयास हो। यो डकुमेन्ट्री हेर्दा आर्थिक संकट, बैंकिङ प्रणाली र वित्तीय नियमन जस्ता विषय बुझ्न सजिलो हुन्छ।
मनी एज डेट
मनी एज डेट (Money as Debt) पैसा र ऋणको सम्बन्धबारे केन्द्रित डकुमेन्ट्री हो। यसका लेखक, निर्देशक तथा निर्माता पल ग्रिन्योन (Paul Grignon) हुन्।हामीले बैंकबाट ऋण लिन्छौँ। घर, गाडी, व्यवसाय वा अन्य आवश्यकताका लागि ऋण लिइन्छ। तर, आधुनिक अर्थतन्त्रमा पैसा कसरी सिर्जना हुन्छ ? बैंकिङ प्रणालीले ऋणमार्फत अर्थतन्त्रमा कस्तो भूमिका खेल्छ ?डकुमेन्ट्रीले यिनै विषयलाई सरल शैलीमा व्याख्या गर्ने प्रयास गर्छ।
यसमा बैंकिङ प्रणाली, कर्जा, ऋण र मुद्रा सिर्जना जस्ता विषय उठाइएका छन्। तर यसलाई हेर्दा एउटा कुरा ध्यान दिनुपर्छ । डकुमेन्ट्रीले प्रस्तुत गर्ने केही आर्थिक व्याख्या र निष्कर्षहरू विवादित वा अत्यधिक सरलीकृत मानिन्छन्। त्यसैले यसलाई आर्थिक प्रणालीबारे प्रश्न उठाउने सामग्रीका रूपमा हेर्नु राम्रो हुन्छ ।
द असेंट अफ मनी
यदि तपाईं पैसा र अर्थतन्त्रको इतिहास बुझ्न चाहनुहुन्छ भने द असेंट अफ मनी (The Ascent of Money) निकै उपयोगी सामग्री बन्न सक्छ। यसका लेखक तथा प्रस्तुतकर्ता नायल फर्ग्युसन (Niall Ferguson) हुन्। यो डकुमेन्ट्रीले पैसाको विकासलाई आजको बैंकिङ प्रणालीबाट भन्दा पनि इतिहासको लामो यात्राबाट हेर्छ।
पैसा कसरी विकसित भयो ? बैंकिङ प्रणाली कसरी विस्तार भयो ? कर्जाले अर्थतन्त्रमा कस्तो भूमिका खेल्यो ? सेयर बजार र वित्तीय संकट बीच कस्तो सम्बन्ध छ ? यस्ता प्रश्नको उत्तर खोज्दै यो डकुमेन्ट्री आर्थिक इतिहासतर्फ लैजान्छ।
यसमा एड्रियन पेनिङ्क (Adrian Pennink) निर्देशन पक्षमा र जोआना पोट्स (Joanna Potts) निर्माण पक्षमा संलग्न छन्।अर्थतन्त्रलाई इतिहासको आँखाबाट बुझ्न चाहनेहरूका लागि यो डकुमेन्ट्री विशेष उपयोगी हुन सक्छ।
कमाण्डिङ हाइट्स: द ब्याटल फर द वर्ल्ड इकोनोमी
विश्व अर्थतन्त्रमा सरकारको भूमिका र बजारको भूमिकाबीचको संघर्ष बुझ्न उपयोगी डकुमेन्ट्री श्रृंखला हो।यसको आधार ड्यानियल यर्गिन (Daniel Yergin) र जोसेफ स्टानिस्लाव Joseph Stanislaw द्वारा लेखिएको पुस्तक हो। यसले विश्व अर्थतन्त्रमा खुला बजार, सरकारी नियन्त्रण, निजीकरण, विश्वव्यापीकरण र आर्थिक नीतिबीचको बहसलाई प्रस्तुत गर्छ।
साधारण भाषामा अर्थतन्त्र सरकारले धेरै नियन्त्रण गर्ने कि बजारलाई बढी स्वतन्त्र छोड्ने ? यही प्रश्न वरिपरि विश्वका विभिन्न देशले लिएका आर्थिक नीतिको कथा अघि बढ्छ।
यसको निर्माण तथा निर्देशनमा विलियम क्रान (William Cran ) लगायतका व्यक्तिहरू संलग्न छन् भने डेभिड ओग्डेन स्टियर्स (David Ogden Stiers) ले वाचकको भूमिका निर्वाह गरेका छन्।आज हामीले सुन्ने विश्व अर्थतन्त्र,विश्वव्यापीकरण र खुला बजार जस्ता शब्दको पृष्ठभूमि बुझ्न यो सामग्री उपयोगी हुन्छ।
क्यापिटालिज्म: अ लभ स्टोरी
क्यापिटालिज्म: अ लभ स्टोरी अमेरिकी फिल्म निर्माता तथा सामाजिक टिप्पणीकार माइकल मुर (Michael Moore) द्वारा लेखन, निर्देशन र प्रस्तुति गरिएको डकुमेन्ट्री हो।यसले पुँजीवादको अमेरिकी स्वरूपमाथि आलोचनात्मक प्रश्न उठाउँछ।
विशेषगरी धनी र गरिबबीचको बढ्दो दूरी, ठूला कम्पनीहरूको प्रभाव, बैंकिङ क्षेत्र, आर्थिक संकट, सरकारी नीति र सामान्य नागरिकको आर्थिक जीवन जस्ता विषयलाई यसले आफ्नो केन्द्रमा राख्छ।
माइकल मुरको शैली सामान्य आर्थिक व्याख्या भन्दा फरक छ। उनी तथ्य, अन्तर्वार्ता, व्यंग्य र व्यक्तिगत कथामार्फत गम्भीर आर्थिक विषयलाई प्रस्तुत गर्छन्।त्यसैले अर्थशास्त्रको जटिल भाषाभन्दा सामाजिक र मानवीय कोणबाट पुँजीवाद बुझ्न चाहनेहरूका लागि यो डकुमेन्ट्री रोचक हुन सक्छ।















