२ कार्तिक २०८३, सोमबार

दसैँमा सुदूरपश्चिम घुम्ने हो? यी हुन् तपाईंले छुटाउनै नहुने सुदुरका प्रमुख पर्यटकीय गन्तव्यहरू



काठमाडौँ। बडा दसैँ नजिकिँदै गर्दा लामो बिदामा कता घुम्ने भन्ने सोच्दै हुनुहुन्छ? यदि यसपटकको दसैँ यात्रा केही नयाँ र फरक अनुभवले भरिपूर्ण बनाउन चाहनुहुन्छ भने, नेपालको सुदूरपश्चिम प्रदेश तपाईंका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र धार्मिक धरोहरले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका रमणीय स्थलहरू घुम्नका लागि यो समय सबैभन्दा अनुकुल मानिन्छ।

हिमालका टाकुरादेखि पहाडी उपत्यका, भित्री मधेश र तराईका हरियाली फाँटसम्म फैलिएको सुदूरपश्चिममा प्राकृतिक र धार्मिक दुवै किसिमका पर्यटनको विशाल सम्भावना रहेको छ।

कसरी पुग्ने सुदूरपश्चिम?

राजधानी काठमाडौंबाट हवाई वा बस यात्रा मार्फत सहजै धनगढी पुग्न सकिन्छ। धनगढीबाट प्रदेशका ९ वटै जिल्लामा पुग्नका लागि नियमित सार्वजनिक यातायातका साधनहरू सहजै उपलब्ध छन्। यसबाहेक निजी सवारीसाधनबाट यात्रा गर्नेहरूका लागि पनि सडक सञ्जालको सुविधा रहेको छ। केही पर्यटकीय स्थलसम्मै गाडी पुग्छ भने केही गन्तव्यका लागि भने रोमाञ्चक पदमार्गको प्रयोग गर्नुपर्ने हुन्छ।

दसैँ यात्राका लागि सुदूरका प्रमुख आकर्षणहरू:

१. कर्णाली पुल (चिसापानी): सुदूरपश्चिमको प्रवेशद्वार मानिने कैलालीको चिसापानीमा रहेको एकखम्बे पुल नेपालकै लामो नदी कर्णाली माथि बनाइएको छ। ५०० मिटर लम्बाइ र १४ मिटर चौडाइ भएको यो पुलबाट देखिने कर्णाली नदीको दृश्य अत्यन्तै मनमोहक हुन्छ। यहाँ आउने पर्यटकहरू प्राय: कर्णालीको चिसो हावामा रमाइलो गर्दै माछाका परिकार र र्‍याफ्टिङको आनन्द लिन रुचाउँछन्।

२. टीकापुर पार्क: वि.सं. २०२८ सालमा तत्कालीन राजा महेन्द्रले एक महिनासम्म राजकाज चलाएको ऐतिहासिक पृष्ठभूमि बोकेको टीकापुर पार्क यहाँको अर्को आकर्षक गन्तव्य हो। हरियाली र शान्त वातावरणले भरिपूर्ण यो पार्क पारिवारिक जमघट र पिकनिकका लागि पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ।

३. घोडाघोडी ताल क्षेत्र: कैलालीको मध्यवर्ती क्षेत्रमा हत्केला तथा पञ्जाको आकारमा फैलिएको यो ताल विश्व रामसार सूचीमा सूचीकृत छ। मुख्य ताल र यसका दर्जनौं उपतालहरू समेटिएको यो क्षेत्र करिब २५६३ हेक्टरमा फैलिएको छ। करिब २४५ प्रजातिका चराचुरुङ्गी, गोही र दुर्लभ वन्यजन्तुको बासस्थान रहेको यो क्षेत्र प्रकृतिका प्रेमीहरूका लागि स्वर्ग समान छ।

४. बतासे झरना: बतासे झरना कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ८ स्थित धारापानी गाउँ हुँदै जान सकिन्छ। बतासे झरना प्राकृतिक सौन्दर्यसँग जोडिएको विशेष आकर्षणको केन्द्र हो। हरियाली जंगल र पहाडी भूगोलको बीचबाट झर्ने झरनाको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउँछ।

झरनाको चिसो पानी र शान्त वातावरणमा केही समय बिताउन चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हो। खासगरी वर्षायाममा झरनाको बहाव बढ्ने भएकाले यसको प्राकृतिक सौन्दर्य अझ आकर्षक देखिन्छ तर यस समयमा यहाँ पौडी खेल्नु भने जोखिमपुर्ण हुन्छ, त्यसैले सावधानी अपनाउनु पनि आवश्यक छ।

५. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: कञ्चनपुरमा अवस्थित यो निकुञ्ज बाह्रसिङ्गेको प्रमुख बासस्थानका रूपमा विश्वभरि प्रसिद्ध छ। जैविक विविधताले धनी यस निकुञ्जभित्र जिप ड्राइभिङ, हात्ती सफारी र जङ्गल वाक गर्न पाइन्छ। यहाँका खुला फाँटहरू र आधा दर्जनभन्दा बढी तालहरूले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछन्।

६. दोधारा चाँदनी झोलुङ्गे पुल: कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको यो ऐतिहासिक झोलुङ्गे पुल सुदूरपश्चिमको चर्चित पर्यटकीय आकर्षणमध्ये एक हो। करिब १ हजार ४५३ मिटर लामो यो पुल निर्माण भएपछि दोधारा–चाँदनीवासीलाई भारतको बाटो प्रयोग नगरी नेपालको अन्य भूभागसँग प्रत्यक्ष आवतजावत गर्न सहज भएको थियो। पछिल्लो समय यो पुल पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्दै आएको थियो। तर हाल पुलको अवस्था भने क्षतिग्रस्त छ। २०८३ असोज १४ गते महाकाली नदीमा आएको तीव्र बहावका कारण पुलको एउटा पिलर भत्किएपछि यसको एक भाग नदीमा खसेको छ र आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। पुलमा आवतजावत गर्न नपाइएपनि हाल अवलोकन भने गर्न सकिने छ।

७. उग्रतारा र शैलेश्वरी मन्दिर (धार्मिक पर्यटन): सुदूरपश्चिमको धार्मिक यात्रामा डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र डोटीको सिलगढीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको शैलेश्वरी मन्दिर छुटाउनै हुँदैन। यी मन्दिरहरूमा विशेष पर्व र पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ। बैतडीको निङ्गलासैनी मन्दिर र पाताल भीमेश्वर पनि यस क्षेत्रका प्रमुख धार्मिक आकर्षण हुन्।

८. खप्तड क्षेत्र: बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा रहेको खप्तड नेपालको ‘भू-स्वर्ग’ का रूपमा चिनिन्छ। यहाँका २२ वटा विशाल पाटन (घाँसे मैदान), त्रिवेणी धाम, खप्तड बाबाको आश्रम र चारैतिर फैलिएका लालीगुराँस तथा सल्लाका जङ्गलले जो सुकैको मन पनि प्रफुल्ल बनाउँछ।

९. रामारोशन र बडिमालिका: अछामका ‘बाह्र बण्ड, अठार खण्ड’ का रूपमा परिचित रामारोशन क्षेत्र आफ्ना १२ वटा ताल र १८ वटा ठूला चौरका कारण प्रसिद्ध छ। त्यस्तै, बाजुरामा पर्ने बडिमालिका क्षेत्र हरियाली फाँटहरू, नजिकै देखिने हिमाल र धार्मिक महत्त्वका कारण पदयात्रा पारखीहरूका लागि सपनाको गन्तव्य बनेको छ।

१०. अपि हिमाल बेस क्याम्प: दार्चुलाको ७,१३२ मिटर अग्लो अपि हिमालको आधार शिविरसम्मको पदयात्रा रोमान्चक र साहसिक यात्राका लागि उपयुक्त मानिन्छ। यहाँबाट अपि र नम्पा हिमालका हिमश्रृङ्खला तथा चमेलिया नदीको उद्गम स्थलको अवलोकन गर्न सकिन्छ।

यसपटकको दसैँको लामो बिदामा भीडभाडबाट टाढा रहेर प्रकृतिको काखमा रमाइलो गर्न र नयाँ संस्कृति अनुभव गर्न सुदूरपश्चिम यात्रा निकै सार्थक बन्न सक्छ। सुदुरपश्चिममा यी बाहेक पनि विभिन्न पर्यटकीय गन्तव्यहरु रहेका छन्। त्यहाँको भुगोल,संस्कृति र भाषा समेत पृथक छ।