किन खेलिन्छ दशैँमा पिङ ? जान्नुहोस् यसको ऐतिहासिक, सांस्कृतिक र योगिक महत्व
दशैँमा पिङ खेल्नु केवल रमाइलो मात्र नभई धर्तीको गुरुत्वाकर्षण छिचोल्दै चेतनालाई अनन्त आकाशतर्फ उडाउने प्राचीन परम्परा र आध्यात्मिक साधना हो।
चचहुई……..
चररररररर……….सरररररररररर………
याे आवाज नसुन्ने नेपालीहरू सायद भेटिँदैनन् पनि हाेला । भलै अचेलकाे नयाँ पुस्ता, जाे शहरमै जन्मेहुर्केकाे छ, त्यसमध्ये कतिपयले नसुनेकाे पनि हुनसक्छ । दशैँ, त्यसमाथि पनि नवमी र विजया दशमीमा पिङ खेल्ने खुब घुइँचाे लाग्छ । महाष्टमीमा दुर्गा पूजा गर्ने, बलि दिने र काटमार गरी खानपान गर्नमा दिन जान्छ । दशमीमा पनि टीका लगाउने र परिवार तथा आफन्त जनकाे घर पुगेर आशीर्वाद लिने हताराे हुन्छ ।
यसबीचकाे महानवमीका दिन अर्थात् आज (भलै याे वर्ष हिजाे पनि महाष्टमी परेकाले हिजैदेखि पिङमा भीड बढेकाे छ) गाउँघर र शहरका क्षेत्रमा पनि पिङ खेल्ने मानिसहरूकाे भीड लाग्छ । अझ राेटे पिङ थापिएका कयाैँ स्थानमा त युवा युवतीहरू पालाे कुरेर बस्नुभन्दा दाेहाेरी गाउने वा नाचगान गर्न रूचाउँछन् ।
रंगिचंगी नयाँ लुगा लगाएर पिङमा झुम्मिएका मानिसहरू देख्दा दशैँकाे वास्तविक उल्लास छचक्लिन्छ ।
यही पिङलाई नेपाली बृहत् शब्दकोशमा अर्थ्याइएकाे छ- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाढी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन ।
नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भए पनि दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहिआएको छ। विशेषगरी दशैँका बेला पिङको महत्त्व छुट्टै पाइन्छ र लोप हुँदै गए पनि परम्पराको जगेर्ना गर्न युवाहरूले समूह बनाएरै गाउँठाउँमा पिङ हाल्ने गरेका छन्। बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धासम्म सबैले पिङको मज्जा लिने गर्छन्।
नेपालमा लिङ्गे पिङ, रोटे पिङ, जाँते पिङजस्ता अनेकौँ प्रकारका पिङहरू प्रचलनमा छन्। बाबियो वा जुटको लठारो बाटेर बाँसका लिङ्गा वा अग्ला रूखका हाँगाहरूमा कसी काम्रो राखेर खेलिने लिङ्गे पिङ नै वास्तवमा पिङको वास्तविक स्वरूप हो।
झुला र पिङमा एक भिन्नता रहेको पाइन्छ । याे कुरा बाघ र बिरालाे “एकै वर्गका जनावर” हुन् भनेजस्तै हाे । किनकि झुलामा मानिस जमिनको सतहमा वा त्यसकै नजिक रहेर सामान्य गतिमा हल्लिन्छ भने पिङमा जमीन छाडेर निकै माथि वा टाढासम्म मच्चिन्छ। पिङ मच्चाएर मानिसहरू रमाइलो मात्र गर्दैनन्, आफू जकडिएको संसारबाट क्षणभरका लागि भए पनि स्वतन्त्र भएको अनुभूति गर्छन् र वास्तवमा “आकाशगामी” हुन्छन्।
प्राचिन संस्कृति
पिङको उत्पत्ति र इतिहास मानव सभ्यता जत्तिकै पुरानो मानिन्छ । यसको सुरुवात कुनै निश्चित मिति वा व्यक्तिबाट नभई प्राकृतिक आवश्यकता, मनोरञ्जन र धार्मिक परम्पराबाट क्रमिक रूपमा भएको हो। आदिम कालमा मानिसहरू वनजङ्गलमा बस्दा रूखका बलिया लहराहरूमा झुन्डिएर मनोरञ्जन गर्ने गर्दथे र यही प्राकृतिक अभ्यास झुला वा पिङको प्रारम्भिक रूप थियो।
यस्तै, प्राचीन समयदेखि आमाहरूले बच्चालाई सुताउन र फकाउन कपडा वा डोरीलाई दुईवटा खम्बा वा रूखमा बाँधेर हल्लाउने गर्दथे जुन व्यावहारिक आवश्यकता पछि गएर आधुनिक झुलामा विकसित भयो।
भारतीय उपमहाद्वीपमा पिङको इतिहास हजारौँ वर्ष पुरानो प्राचीन ग्रन्थ र संस्कृतिसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार प्राचीन कालमा सन्तहरू खुला चौर वा रूखको ओत लाग्दा आफ्नो झोलामा बोकेको शालिग्राम वा भगवानको मूर्तिलाई सानो आसनमा राखेर श्रद्धापूर्वक हल्लाउने गर्दथे र यसैबाट झुला शब्द र परम्पराको विकास भयो।
हिन्दू धर्मशास्त्रमा भगवान श्रीकृष्ण र राधाले वृन्दावनको कदम्बको रूखमा झुला झुलेका कथाहरू उल्लेख छन् र साउन-भदौमा मनाइने झुुलन यात्रा यसैको प्रतीक हो । जनकपुरधाम र मिथिला क्षेत्रमा राम-सीतालाई झुलाउने प्राचीन सांस्कृतिक परम्परा रहेको छ।
मध्यकालमा आइपुग्दा झुला केवल मनोरञ्जन मात्र नरहेर राजसी वैभव र विलासिताको प्रतीक बन्यो जहाँ भारतका मुगल र राजपूत राजाहरूका दरबार तथा महलका चोकहरूमा काठ र धातुका कलात्मक झुलाहरू राखिने गरिन्थ्यो। नेपालमा पनि त्यही प्रभाव फैलिएर राजशी र धनिमानीहरूले घरमा सानाे बगैँचा बनाउने र झुला राख्ने चलन चल्याे ।
पवित्र धाम ऋषिकेशमा रहेको प्रसिद्ध लक्ष्मण झुला पुलको उत्पत्तिका बारेमा राेचक प्रसंग छ । त्रेतायुगमा भगवान श्रीरामका भाइ लक्ष्मणले जूटको डोरीको सहयोगले गङ्गा नदी पार गरेको ठाउँ भएकाले यसको नाम लक्ष्मण झुला रहन गएको कथा प्रचलित छ । पछि सन् १९२९ मा यसलाई आधुनिक झुलुङ्गे पुलको रूप दिइयो।
काव्यात्मक प्रभाव
हिन्दू ग्रन्थहरूमा पिङ खेल्ने परम्परालाई केवल खेल मात्र नभई देवसंस्कृति, उल्लास र उत्सवको प्रतीकका रूपमा लिइएको छ। प्राचीन पुराण तथा काव्यात्मक ग्रन्थहरूमा चाडपर्वका समयमा देवीदेवता तथा आम नागरिकले समेत पिङ खेलेर आनन्द लिने गरेको प्रसङ्ग पाइन्छ।
बाल्मीकि रामायण र वेद व्यासकृत महाभारतमा विभिन्न उत्सव तथा मौसमी मेलाहरूमा ठूला रूखका हाँगामा लामो डोरी टाँगी पिङ हाल्ने र चढेर मनोरञ्जन गर्ने वर्णन भेटिन्छ भने संस्कृत महाकाव्य र नाटकहरूमा, विशेषगरी महाकवि कालिदासका रचनाहरूमा झुला वा पिङलाई शृङ्गार रसको उद्गम मानिएको छ ।
त्यहाँ वर्षाऋतुको आगमनसँगै प्रिया र प्रियतमले एकसाथ पिङ खेल्दै मनको प्रेम र उत्साह उजागर गर्ने गरेकाे व्याख्या पाइन्छ।
लोकसाहित्य र परम्परागत ग्रन्थीय मान्यता अनुसार जमिनबाट खुट्टा उचालेर आकाशतर्फ उड्ने पिङले गुरुत्वाकर्षणलाई जित्दै शरीरमा रक्तसञ्चार बढाउने र मनका नकारात्मक ऊर्जालाई नष्ट गर्ने विश्वास गरिन्छ। प्राचीन कालमा यसलाई भू-मातालाई खुसी पार्ने र सुस्वास्थ्यको कामना गर्ने विधिको रूपमा पनि लिइन्थ्यो।
नेपाली जनजीवनमा बडादशैँको अवसरमा पिङ खेल्नैपर्ने मान्यता छ र धर्ती छोडेर एकपटक आकाश छुनुपर्छ भन्ने लोकविश्वासका साथ वर्षभरिको दुःखकष्टलाई पन्छाएर उल्लास साट्ने माध्यमका रूपमा पिङ हाल्ने र खेलिने परम्परा चालिआएको छ।
हिन्दू मन्दिरहरू र चाडपर्वमा भगवानलाई झुलाउने वा डोलोत्सव गर्ने परम्परा वैदिक तथा आगम ग्रन्थहरूमा विधिवत रूपमा उल्लेख गरिएको छ । पुरुषोत्तमसंहिताको २४ औँ अध्यायमा र शिव महापुराणमा देवताहरूको प्रसन्नता, ऋतु परिवर्तन र भक्तहरूको मोक्षका लागि डोला वा झुलाको उत्सव मनाउने विधि बताइएको छ।
महाकवि कालिदासले आफ्नो ऋतुसंहार काव्यमा वर्षाऋतु वर्णन गर्ने क्रममा प्रिया र प्रियतमले बगैँचायुक्त स्थानमा रूखका हाँगामा लामो डोरी बाटेर ‘हिन्दोला’ खेलेको शृङ्गारिक वर्णन गरेका छन्। पुरुषोत्तमसंहिता तथा विभिन्न पुराणहरूमा डोलोत्सवका अध्यायहरू छन् जहाँ भगवानलाई साउन महिना वा चाडपर्वका बेला फूलले सजाइएको डोला वा झुलामा राखेर झुलाउनाले भक्तको मनोकाङ्क्षा पूरा हुने बताइएको छ।
यस्तै, गर्गसंहिता, ब्रह्मवैवर्त पुराण तथा पदवली साहित्यमा राधा र कृष्णको बाललिला तथा प्रेमलीला वर्णन गर्दा झूलन यात्राको विस्तृत विवरण पाइन्छ, जसले सनातन सांस्कृतिक परम्परामा सामूहिक उल्लास र मनोरञ्जनको प्रतीकका रूपमा पिङको अनिवार्यतालाई दर्शाउँछ।
याेगिक मार्गमा पिङकाे रहस्य
योग दर्शनमा गुरुत्वाकर्षण भनेको भौतिक शरीरको जडता र संसारप्रतिको आसक्ति वा बन्धन हो। जब योगसाधनाका माध्यमबाट ऊर्जा वा कुण्डलिनी जागृत हुन्छ, तब साधकले गुरुत्वाकर्षणको नियमभन्दा माथि उठेको अनुभव गर्छ । यसलाई लघिमा सिद्धि भनिन्छ र चेतना अनन्त आकाशतर्फ फैलन्छ।
योगिक र तान्त्रिक ग्रन्थहरूमा हावामा पौडनु वा उड्नु भनेको मनका विचार र भावनाका तरङ्गहरूमाथि नियन्त्रण पाउनु हो । यो सांसारिक मोह र तनावको भारीबाट मुक्त भएर पूर्ण स्वतन्त्रता प्राप्त गर्ने साङ्केतिक रूप पनि हो।
आचार्य रजनीश (ओशो)ले आफ्नो “डाइनामिक मेडिटेसन”को तेस्रो चरणमा शरीरलाई पूरै माथि उफार्दै गुरुत्वाकर्षणको बललाई तोड्ने वैज्ञानिक प्रयोग गराउनुभएको छ । जसबाट शरीरका कोषहरूमा प्राणवायु र जैविक-बिजुलीको तरङ्ग उत्पन्न हुने उहाँको भनाइ छ।
हिन्दू शास्त्र, योग दर्शन र अध्यात्ममा मानिस पिङ खेल्दा आकाशतर्फ फर्किनु, आकाश छुनु वा आकाश बन्नुलाई चेतनाको उच्चतम आयामको रूपमा लिइन्छ। योग दर्शनमा सामान्य जीवन प्रवृत्तिको ऊर्जा तलतिर प्रवाहित भइरहेको हुन्छ । तर पिङ खेल्दा आकाशतर्फ फर्कनु भनेको ऊर्ध्वगमन हो, जहाँ चेतना मूलाधारबाट सहस्रार चक्रतर्फ बग्न थाल्छ।
वैदिक दर्शन र उपनिषद्का अनुसार मानव शरीर पञ्चतत्व (क्षिति, अप, तेज, मरुत्, आकाश) ले बनेको छ । यीमध्ये आकाश सबैभन्दा सूक्ष्म तथा सर्वव्यापक तत्व हो। अध्यात्ममा आकाशमुखी हुनु भनेको आफ्नो सीमित अहङ्कारको घेरा तोडेर असीम चेतनासँग एकाकार हुनु हो । बृहदारण्यक उपनिषद् लगायतका ग्रन्थमा आकाशलाई ब्रह्म वा चेतनाको प्रतीक मानिएको छ।
भौतिक रूपमा गुरुत्वाकर्षणले हामीलाई पृथ्वीतिर ताने पनि पिङ खेल्दा धर्ती छोडेर आकाशतर्फ उड्नु भनेको क्षणिक रूपमै भए पनि भौतिक बन्धन र जडतालाई तोड्नु हो । जुन जीवनमुक्तिको अभ्यास वा चेतनाको स्वतन्त्र उडान हो।
वेदान्त दर्शनमा आकाश छुनु वा आकाश हुनु भनेको सीमितताबाट असीमिततामा पुग्नु हो । जसरी आकाश सबैमा समभावले फैलिएको हुन्छ, त्यसैगरी चेतना अहंकारबाट मुक्त हुँदा मानिसले ब्रह्माण्डलाई आफ्नैभित्र महसुस गर्छ।
उपनिषद्को भाषामा “अहम् ब्रह्मास्मि” अर्थात् “म नै त्यो सर्वव्यापक ब्रह्म हुँ” भन्ने बोधको प्रतीकात्मक अनुभव नै आकाश छुनु हो । पिङ खेलेर आकाशमुखी हुनु भनेको धर्तीको आधारमा उभिएर आफ्ना सीमितताहरू पन्छाउँदै अनन्त आकाशतर्फ फैलिने मानिसको अन्तरनिहित चाहना र आध्यात्मिक मुक्तिको जीवन्त अभिव्यक्ति हो।















