दसैँको दक्षिणादेखि सेयर शिक्षासम्म : सानो रकम, ठूलो वित्तीय यात्राको सुरुवात
काठमाडौं । दसैँ नेपाली समाजमा भेटघाट, आशीर्वाद, सम्बन्ध र संस्कारको पर्व मानिन्छ। टीका लगाउँदा ठूलाबडाले दिने दक्षिणा बालबालिकाका लागि खुसीको विषय हुन्छ। कसैका लागि त्यो मिठाई र नयाँ कपडामा खर्च हुन्छ, कसैका लागि मोबाइल र मनोरञ्जनमा, त कसैले भविष्यका लागि बचत गर्छ।
तर, यही दक्षिणालाई ‘खर्च गर्ने पैसा’ बाट ‘भविष्य निर्माण गर्ने पैसा’ बनाउने सोच विकास गर्न सकियो भने दसैँको एउटा परम्पराले नयाँ वित्तीय संस्कारको रूप लिन सक्छ।
त्यसको एउटा सम्भावित बाटो हो,’सेयर बजार’ । दसैँको दक्षिणाबाटै ठूलो लगानी गर्नुपर्छ भन्ने होइन। बरु सानो रकमबाट लगानीको ज्ञान, अनुशासन र दीर्घकालीन सोचको सुरुवात गर्न सकिन्छ। आजको केही सय वा केही हजार रुपैयाँले भोलि लगानीकर्ताको वित्तीय यात्राको पहिलो पाइला बन्न सक्छ।
सेयर बजार भनेको आखिर के हो?
सरल भाषामा बुझ्दा, सेयर भनेको कुनै कम्पनीको स्वामित्वको सानो अंश हो। कुनै कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणबाट पुँजी उठाउँदा त्यसको निश्चित हिस्सा सेयरका रूपमा बिक्री गर्न सक्छ। त्यही सेयर खरिद गर्ने व्यक्ति उक्त कम्पनीको सेयरधनी अर्थात् आंशिक मालिक बन्छ।
नेपालमा सर्वसाधारणले सेयर कारोबार गर्ने प्रमुख माध्यम नेपाल स्टक एक्सचेन्ज (नेप्से) हो। प्राथमिक बजारमा कम्पनीले पहिलोपटक सर्वसाधारणलाई सेयर जारी गर्दा आईपीओमार्फत लगानी गर्न सकिन्छ भने दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयर खरिद–बिक्री गर्न सकिन्छ। यसरी हेर्दा सेयर बजार ‘सेयर किनेर मूल्य बढेपछि बेच्ने ठाउँ’ हो भन्ने पनि गरिन्छ। तर यो त कम्पनी, व्यवसाय, पुँजी र लगानीकर्ताबीच जोडिने वित्तीय प्रणाली पनि हो।
दक्षिणा बचत, सिकाइको अवसर
दसैँमा पाएको दक्षिणा रु. ५०, १००, ५००- १,००० वा जति रुपैयाँ पनि हुन सक्छ। दक्षिणा रकम ठूलो नहुन सक्छ। तर, त्यसबाट सुरु हुने वित्तीय सोच ठूलो हुन सक्छ।
उदाहरणका लागि, दक्षिणाबाट आएको केही रकम खर्च गर्ने र केही रकम बचत गर्ने बानी बसाल्न सकिन्छ। त्यसपछि सेयर बजार, म्युचुअल फन्ड, बैंक बचत, ऋणपत्रलगायत विभिन्न लगानीका माध्यमबारे अध्ययन गर्न सकिन्छ। लगानीको पहिलो खुड्किलो पैसा मात्र हुदैन, ज्ञान हो। त्यसैले दसैँको दक्षिणालाई सेयर बजारमा लगानी गर्ने अवसरका रूपमा हेर्दा पनि पहिलो प्राथमिकता ‘कुन सेयर किन्ने ?’भन्दा ‘सेयर बजार कसरी बुझ्ने? ‘ हुनुपर्छ।
आईपीओ नयाँ लगानीकर्ताका लागि एउटा प्रवेशद्वार, दोस्रो बजारमा बढी सावधानी
नेपालमा सेयर बजारमा प्रवेश गर्ने धेरै नयाँ लगानीकर्ताका लागि आईपीओ परिचित माध्यम बनेको छ। कम्पनीले सर्वसाधारणलाई पहिलोपटक सेयर जारी गर्दा आईपीओमार्फत आवेदन दिन सकिन्छ। त्यसका लागि डिम्याट खाता, मेरो सेयर लगायत आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।
दसैँको दक्षिणाबाट ठूलो रकम जम्मा नहोला। तर, आवश्यक रकम छुट्याएर आईपीओ आवेदनका लागि प्रयोग गर्ने, आवेदन प्रक्रियाबारे सिक्ने र कम्पनीको विवरण पढ्ने बानी बसाल्ने हो भने त्यसले आर्थिक शिक्षाको राम्रो अभ्यास सुरु गर्न सक्छ।
हाल नेपाली पुँजी बजारमा विभिन्न कम्पनीहरूका सार्वजनिक निष्कासन तथा आईपीओ सम्बन्धी प्रक्रिया अघि बढिरहेका छन्।
त्यसैले कुनै पनि आईपीओ खुल्दा कम्पनीको विवरण, व्यवसाय, वित्तीय अवस्था, जोखिम र सम्भावनाबारे अध्ययन गर्नु आवश्यक हुन्छ। कहिलेकाहीँ आईपीओ परेको मात्र लगानी सफल भएको मानिदैन । सही सूचना लिएर निर्णय गर्न सक्नु नै वास्तविक लगानी शिक्षा हो।
आईपीओबाट सेयर बजारमा प्रवेश गरेपछि कतिपय लगानीकर्ता दोस्रो बजारतर्फ आकर्षित हुन्छन्। दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयर दैनिक बजार मूल्यअनुसार खरिद–बिक्री हुन्छन्।
यही ठाउँमा लगानीकर्ताले एउटा कुरा विशेष रूपमा बुझ्नुपर्छ कि, सेयर बजारमा नाफाको सम्भावना हुन्छ भने जोखिम पनि हुन्छ।
कुनै सेयरको मूल्य बढ्न सक्छ-घट्न पनि सक्छ। बजारमा छोटो अवधिमा ठूलो उतारचढाव आउन सक्छ । यस्तो विषयमा भने सचेत हुनुपर्छ ।
दसैँको दक्षिणाबाट सेयर, एउटा सम्भावित अभ्यास !
दक्षिणा पाउने व्यक्तिले एउटा सरल अभ्यास गर्न सक्छ । केही खर्च, केही बचत, केही लगानी। मानौँ दसैँमा १० हजार रुपैयाँ दक्षिणा प्राप्त भयो। सबै रकम एकैपटक सेयर बजारमा लगानी गर्नुपर्छ भन्ने हुदैन। आफ्नो आर्थिक अवस्था र जोखिम क्षमता अनुसार एउटा हिस्सा बचतमा राखेर बाँकी रकमबाट लगानीका विकल्पबारे अध्ययन गर्न सकिन्छ।
कसैले आईपीओका लागि रकम छुट्याउन सक्छ। कसैले म्युचुअल फन्ड रोज्न सक्छ। कसैले सेयर बजारबारे किताब वा तालिममा खर्च गर्न सक्छ। कसैले त्यही रकम बैंकमा बचत गरेर थप पूँजी तयार पार्न सक्छ। दक्षिणाको रकमबाट तत्काल ठूलो नाफा उद्देश्य भने त्यति लाभदायक नहुन सक्छ। तर, पैसालाई उद्देश्यपूर्ण ढङ्गले प्रयोग गर्ने संस्कार विकास भने गर्न सकिन्छ ।
दक्षिणाको नयाँ अर्थ : आशिषसँगै आर्थिक अनुशासन
दसैँमा ठूलाबडाले दिने दक्षिणा वास्तवमा रकमभन्दा ठूलो कुरा हो, त्यसमा आशिष हुन्छ।त्यसैले दक्षिणाको एउटा हिस्सा भविष्यका लागि छुट्याउनु एक्दम सहि निर्णय हुन सक्छ । पैसा बचाउनु, आफ्नो भविष्यलाई आजैदेखि सम्मान गर्नु पनि हो । आजको पुस्ताले दक्षिणाबाट मोबाइल र मनोरञ्जन मात्र नभइ वित्तीय ज्ञान पनि किन्न सक्छ। सेयर बजार बुझ्न सक्छ। कम्पनी कसरी चल्छ भनेर बुझ्न सक्छ। नाफा, लाभांश, जोखिम, बजार मूल्य, आईपीओ, दोस्रो बजार, डिम्याट र लगानी विविधीकरण जस्ता विषय सिक्न सक्छ। यसरी हेर्दा दसैँको दक्षिणा एउटा सानो रकम मात्र रहँदैन, त्यो वित्तीय साक्षरताको बीउ बन्न सक्छ।दसैँमा पाइने दक्षिणाको मूल्य रुपैयाँमा मात्र नापिँदैन। त्यो पैसा कसरी प्रयोग गरियो भन्ने कुराले त्यसको वास्तविक अर्थ निर्धारण गर्छ।
कसैको दक्षिणाले एउटा मिठो खाना किन्ला, कसैको दक्षिणाले नयाँ कपडा। त्यो पनि आवश्यक छ। तर त्यसैसँगै दक्षिणाको सानो हिस्सा बचत वा लगानीका लागि छुट्याउने संस्कार बसाल्न सकियो भने त्यसले जीवनभर काम गर्ने वित्तीय बानी निर्माण गर्न सक्छ।
आज दक्षिणाबाट छुट्याएको सानो रकमले भोलि ठूलो सम्पत्ति बनाउँछ भन्ने ग्यारेन्टी छैन। तर आजैबाट बचत गर्ने, अध्ययन गर्ने, जोखिम बुझ्ने र योजनाबद्ध रूपमा लगानी गर्ने बानी बस्यो भने त्यसको प्रतिफल पैसा भन्दा धेरै ठूलो हुन सक्छ।















