तीन महिनामा १६ अर्ब १५ करोडको बिजुली भारततर्फ निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालबाट करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात भएकाे छ।
नेपाल विद्युत प्राधिकरणले असोज एक महिनामा मात्रै ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेकाे हाे । प्राधिकरणको तथ्यांकअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ असोज महिनामा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ।
यसबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुन: सुरु भएको छ ।















