११ कार्तिक २०८३, बुधबार

कात्तिक १४ गते पोखरामा ‘पल्सर आरपीएम’ हुँदै,: टेस्ट राइडदेखि लाइभ डिजेसम्मका आकर्षण



काठमाडौं। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ ।

पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सह्रका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउनेछ। बुटवलमा करिब २,५०० जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ ।

कार्यक्रममा पल्सर एन १६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । साथै, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन १६० र एनएस २०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ । सहभागीले पप अप स्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्नेछन्।

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो । विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा र आसपासका क्षेत्रका युवालाई सहभागी हुन आमन्त्रण गरिएको छ ।