विराटनगरमा आगामी पुस २ देखि ‘विराट एक्स्पो २०२६’ आयोजना हुने, २७५ भन्दा बढी स्टल रहने
उद्योग संगठन मोरङको आयोजनामा आगामी पुस २ देखि ११ गतेसम्म (डिसेम्बर १७ देखि २६, २०२६) विराटनगरको डिग्री क्याम्पस परिसरमा ‘विराट एक्स्पो २०२६’ को नवौँ संस्करण आयोजना हुने भएको छ। ‘द इकोसिस्टम अफ अपर्च्युनिटीज’ (अवसरहरूको पारिस्थितिकी प्रणाली) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
करिब तीन दशकअघि व्यापार र उत्पादन प्रदर्शनमा मात्र सीमित रहेको एक्स्पोलाई यसपटक भने अवसरहरूको प्लेटफर्मका रूपमा विकास गरिएको छ। उद्योगीलाई दक्ष जनशक्ति, स्टार्टअपलाई लगानी, युवालाई रोजगारी, विद्यार्थीलाई करियर मार्गदर्शन र लगानीकर्तालाई सम्भावनासँग जोड्ने उद्देश्यका साथ एक्स्पोलाई १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत डिजाइन गरिएको छ।
एक्स्पोमा ‘लर्न फर द फ्युचर’, ‘स्टार्टअप एन्ड इन्टरप्रेन्योरसिप पभिलियन’, ‘बिडिएस कनेक्ट’ (व्यावसायिक विकास सेवा), ‘विराट बिजनेस समिट २०२६’, ‘बिजनेस एक्जिबिसन’ र दैनिक साँस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। तीन दिने बिजनेस समिटमा १८ वटा जिल्लाका आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत हुनुका साथै नेपाल-भारत र नेपाल-बंगलादेश बिजनेस फोरम तथा अफरचुनिटी वाल (अवसर पर्खाल) समेत राखिनेछ।
कुल २७५ भन्दा बढी स्टलहरू रहने यस एक्स्पोमा १५० भन्दा बढी औद्योगिक तथा कर्पोरेट, ५० कृषि तथा साना उद्यम, २० अटोमोबाइल र १२ खाद्य स्टलहरू रहनेछन्। कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनका साथै सुनसरी-मोरङ औद्योगिक करिडोरका प्रमुख उत्पादनहरूलाई विशेष प्राथमिकता दिइनेछ।
हाल एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको र छठ पर्वपछि निर्माणको काम सुरु गरिने आयोजकले जनाएको छ। एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता, ३०० भन्दा बढी कम्पनी, २५ हजार विद्यार्थीको सहभागिता, २ हजार युवालाई रोजगारीको अवसर र २० वटा लगानीयोग्य स्टार्टअपलाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
यस वर्षको टाइटल स्पोन्सर ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ रहेको छ भने ‘पावर्ड बाइ’ मा ‘सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्स’ रहेको छ। त्यसैगरी डाइमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका रूपमा विभिन्न प्रतिष्ठित उद्योग तथा वित्तीय संस्थाहरू जोडिएका छन्। प्रदेश सरकार, विराटनगर महानगरपालिका तथा स्थानीय व्यावसायिक संघ-संस्थाहरूको प्रवर्द्धन र सहयोगमा एक्स्पो सञ्चालन हुन लागेको हो।















