२० कार्तिक २०८३, शुक्रबार

चाडपर्वको मुखमा मिठाई पसलमाथि निगरानी तीव्र



उपभोक्तालाई ठग्ने र अखाद्य वस्तु मिसाउनेलाई लाइसेन्स खारेजसम्मको चेतावनी

काठमाडाैँ । झिलिमिली बत्तीको उज्यालो, घरआँगनमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलको सुवास अनि देउसी-भैलोको गुञ्जनले यतिखेर नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) घरघरमा भित्रिसकेको छ।

तिहार भन्नेबित्तिकै उज्यालो र रङ्गीचङ्गी फूलहरूसँगै सबैभन्दा बढी जोडिएर आउने अर्को अपरिहार्य कुरा हो– मिठाई। चाडपर्वका बेला बजारमा मिठाईको माग ह्वात्तै बढ्ने हुनाले व्यापारीहरूलाई पनि भ्याइनभ्याइ हुन्छ।

तर, यही हतारो र चाडपर्वको मौका छोपेर छिटो र उच्च नाफा कमाउने ध्याउन्नमा विगतका वर्षहरूमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरेको तितो यथार्थ हामीसामु छ।

सडेगलेका, म्याद गुज्रेका र मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने अखाद्य वस्तु मिसिएका मिठाईले बजार ढाक्ने गरेका अनेकौं दृष्टान्तले यसको पुष्टि गर्छन्।

यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी दोहोरिन नदिने भन्दै तिहारलाई लक्षित गरेर मिठाई पसलहरूमाथि कडा निगरानी बढाएको छ र नयाँ मापदण्डसमेत कार्यान्वयनमा ल्याएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै मिठाई उत्पादक तथा विक्रेताका लागि कडा नियमहरू लागु गरेको हो।

तिहारको समयमा मिठाईमा हुने मिसावट कतिसम्म भयानक हुन्छ भन्ने बुझ्न गत वर्षको एउटा तथ्यांक हेरे मात्रै पनि पुग्छ। गत वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज २४ देखि कात्तिक १ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका ५३ वटा चर्चित र ठूला मिठाई पसलमा अनुगमन गरेको थियो। त्यसक्रममा अधिकांश पसलका मिठाईमा खुलेआम अखाद्य वस्तु प्रयोग गरिएको भेटिएको थियो।

कतिपय पसलले एकपटक प्रयोग गरिसकेको तेललाई महिनौंसम्म अलकत्रा जस्तो कालो र बिग्रिएनन् भन्दै पटक-पटक प्रयोग गर्ने गरेको तथा तोकिएको मापदण्डभन्दा निकै बढी र मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने औद्योगिक एवं प्रतिबन्धित रङ मिसाउने गरेको पाइएको थियो।

त्यति मात्र होइन, भान्साको सरसफाइमा चरम लापरबाही देखिएको थियो भने ओसिलो र दुर्गन्धित स्थानमा मिठाई तयार पार्ने र बिक्रीका लागि राखिएका तयारी मिठाईमा समेत झिँगा तथा साङ्लो मरेको भेटिएको थियो।

कस्तो छ नयाँ मापदण्ड ?

उपभोक्ताको स्वास्थ्य सुरक्षा र हित संरक्षणलाई सर्वोपरि ध्यानमा राख्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र उपभोक्ता संरक्षण ऐन टेकेर मिठाई व्यवसाय लक्षित नयाँ मापदण्ड जारी गरेको छ। नयाँ मापदण्डअनुसार अब मिठाई उत्पादक तथा व्यवसायीले उपभोक्तालाई अँध्यारोमा राखेर व्यापार गर्न पाउने छैनन्।

मिठाई उत्पादनसम्बन्धी नयाँ निर्देशिकामा उत्पादक उद्योगीले मिठाई बनाउँदा प्रयोग भएका सम्पूर्ण कच्चापदार्थको यथार्थ विवरण प्याकिङ बट्टामा वा पसलको शोकेसमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। गएको कात्तिक ११ गतेदेखि नै लागु हुने गरी विभागले देशैभरका सबै होटल, मिठाई पसल र भण्डारलाई यो नियम अक्षरशः पालना गर्न निर्देशन दिइसकेको छ।

विभागले जारी गरेको निर्देशनअनुसार अब बिक्रीका लागि राखिने तयारी मिठाईमा अनिवार्य रूपमा पाँचवटा मुख्य विवरण खुलाउनुपर्नेछ। पहिलो, व्यवसायीले बिक्रीमा राखेको मिठाई कुन प्रकारको हो भनेर स्पष्ट नाम खुलाउनुपर्नेछ। दोस्रो, उक्त मिठाई तयार पार्दा प्रयोग भएका मुख्य कच्चापदार्थ (जस्तैः दूध, खुवा, ड्राइफ्रूट, चिनी, बेसन आदि) को सूची उपभोक्ताले सहजै देख्ने गरी राख्नुपर्नेछ।

तेस्रो, उपभोक्तालाई झुक्याउन नपाइने गरी मिठाई कुन प्रकारको तेल (भटमास, सनफ्लावर आदि) वा कुन घिउमा तयार पारिएको हो, त्यो पनि स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ। चौथो, उक्त मिठाई कहिलेसम्म खाइसक्नुपर्छ वा कति दिनसम्म खान योग्य हुन्छ भन्ने उपभोग्य मिति स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ।

र पाँचौं, उपभोक्ता ठगिनबाट जोगाउनका लागि मिठाईको प्रतिकिलो मूल्य अनिवार्य रूपमा लेखेर टाँस्नुपर्नेछ। यसका अतिरिक्त, मिठाई उत्पादन गर्दा प्रयोग गरिएका कच्चापदार्थसमेत शोकेसमै सबै उपभोक्ताले देख्ने गरी राख्ने व्यवस्था गर्नुपर्ने नियम मापदण्डमा समेटिएको छ।

विभागका अनुसार शोकेस वा काउन्टरमा विवरण टाँसेर मात्रै पुग्दैन, विभागको अनुगमन टोलीले जुनसुकै बेला बजारबाट मिठाईको नमुना लिएर प्रयोगशालामा परीक्षण गर्नेछ।

परीक्षणका क्रममा लेभलमा उल्लेख गरिएका पदार्थ नभएमा वा प्रतिबन्धित अखाद्य रङ तथा बिग्रिएको सडेको तेल प्रयोग भएको पाइएमा कानुनअनुसार व्यवसायीलाई हदैसम्मको कारबाही र अनुमतिपत्र (लाइसेन्स) खारेजीसम्मको एक्सन लिइने विभागले चेतावनी दिएको छ।

पाँच सय पसलमा अनुगमन

नयाँ नियम लागु गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशैभरि अनुगमनलाई तीव्र रूपमा अगाडि बढाएको छ। विभागले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार हालसम्म देशभरिका ४ सय ९७ वटा मिठाई पसलमा विशेष अनुगमन गरिएको छ।

जसमध्ये ४ सय ३३ वटा पसललाई विभिन्न त्रुटि औंल्याउँदै सचेत गराइएको छ र सुधारका लागि निर्देशनपत्र काटिएको छ। यसरी पत्र काटिएका मिठाई पसलहरूमध्ये कोशी प्रदेशमा ८४, मधेस प्रदेशमा ५६, बागमतीमा ५३, लुम्बिनीमा १ सय ७५, गण्डकीमा २६, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा १५ वटा रहेका छन्।

अनुगमन गरिएका पसलहरूमध्ये हालसम्म २ सय २२ वटा पसलले नयाँ मापदण्डअनुसार लेभल राख्ने कामलाई पूर्ण रूपमा कार्यान्वयन गरिसकेका छन् भने बाँकी पसलहरू सुधारको क्रममा रहेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार अहिले देशभरिका ३० वटा कार्यालयबाट खाद्य निरीक्षकहरू परिचालन गरेर स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँगको समन्वयमा अनुगमन कार्य भइरहेको छ।

तिहारको बेला मिठाईको खपत अत्यधिक हुने भएकाले उपभोक्ता नठगिउन् र उनीहरूलाई स्वस्थ्यकर खाद्यवस्तु उपलब्ध गराउने मुख्य उद्देश्यले कात्तिक ११ गतेदेखि नै निर्देशन दिएर यो अभियान चलाइएको उनको भनाइ छ।

नयाँ व्यवस्था भएकाले खुला मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि लेख्ने कुरामा व्यवसायीहरूलाई केही समय दिइएको थियो। तर अब त्यो समयसीमा सकिएकाले विभागले अर्को चरणको कडा कदम चाल्ने तयारी गरेको छ।

नियमको पालना नगरेका पसलहरूको अन्तिम तथ्यांक संकलन गरेर तिनलाई खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनबमोजिम मुद्दा दायर गर्ने प्रक्रिया र ठाउँको ठाउँ जरिबाना गर्ने काम यसै सातादेखि सुरु हुने महानिर्देशक कर्णले जानकारी दिए।

यसैबीच, विभागले चाडपर्वलाई लक्षित गरेर १५ देखि ३१ असोजसम्म मिठाईलगायत खाद्यान्न, दाना र होटल क्षेत्रमा गरेको समग्र अनुगमनमा १ हजार ७ सय ५१ वटा स्थलको निरीक्षण भइसकेको छ। सोही क्रममा नियमविपरीत गतिविधि गर्ने व्यवसायीहरूबाट हालसम्म १० लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिबाना समेत असुल भइसकेको छ।

‘पूजा गर्ने घिउ’ मा बोसो ?

तिहारको समयमा मिठाईको प्रयोगसँगै घरमा दियो बाल्न र विभिन्न पूजाआजा गर्न घिउको प्रयोग अत्यधिक मात्रामा हुने गर्छ। तर, बजारमा उपभोक्तालाई सस्तो मूल्यको प्रलोभन देखाएर ‘पूजा गर्ने घिउ’ भन्दै अखाद्य चिल्लो पदार्थ तथा बोसो जस्तो वस्तु बिक्री भइरहेको गुनासो बढेपछि विभागले यसमाथि पनि कडा कारबाही अगाडि बढाएको छ।

पूजा गर्ने घिउको सन्दर्भमा बजारमा भइरहेको बेथितिप्रति आफूहरू गम्भीर रहेको र पूजा पसलहरूमा वास्तविक घिउ नभई अखाद्य बोसोजन्य पदार्थ बिक्री भइरहेको पाइएको महानिर्देशक कर्णले बताए।

त्यस्ता अखाद्य वस्तुहरूलाई बजारका विभिन्न स्थानबाट जफत गर्ने, फिर्ता पठाउने र नष्ट गर्ने (धुलाउने) कामसमेत प्रभावकारी रूपमा भइरहेको विभागले जनाएको छ।

आफैं सचेत बन्नुपर्ने बेला

सरकारले कडा ऐन, कानुन र मापदण्ड बनाएर बजार अनुगमनलाई जति नै तीव्रता दिए पनि बजारलाई पूर्णरूपमा स्वच्छ र विकृतिमुक्त बनाउन उपभोक्ताहरू स्वयं पनि उत्तिकै सचेत र जागरुक हुनुपर्ने देखिन्छ। तपाईंले पसलबाट किन्दै गरेको मिठाई कुन तेल वा घिउमा पाकेको हो?

त्यसमा के-के मिसाइएको छ? र, सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो मिठाई कहिलेसम्म खाइसक्नुपर्ने हो?

यी सम्पूर्ण कुराहरू पसलको शोकेसमा स्पष्ट रूपमा लेखिएको वा राखिएको छैन भने त्यस्ता शंकास्पद पसलबाट मिठाई नकिन्नु नै उपभोक्ताका लागि बुद्धिमानी हुन्छ। यदि कुनै पनि व्यापारीले सरकारले तोकेको नयाँ नियमको पालना गरेको छैन भने उपभोक्ताले तुरुन्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा नजिकैको प्रहरी तथा प्रशासन कार्यालयमा खबर गर्न सक्नेछन्।

यो तिहार झिलिमिली र उज्यालोको पर्व मात्र नभई पूर्णरूपमा स्वास्थ्यकर पनि बनोस् भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ। अखाद्य वस्तु तथा मिसावटयुक्त मिठाईको सेवनबाट बचेर सुरक्षित रूपमा पर्व मनाउनु नै आजको आवश्यकता हो।