२९ कार्तिक २०८३, आइतबार

असोजमा चम्कियो ब्रोकरको कमाइ, कमिसन आय १२ प्रतिशतभन्दा बढीले वृद्धि



नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार असोज महिनामा सञ्चालनमा रहेका ९१ वटा ब्रोकर कम्पनीले कुल ४१ करोड ६७ लाख ६९ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन्, जुन अघिल्लो महिना भदौको तुलनामा १२.२३ प्रतिशतले बढी हो।

काठमाडाैँ । नेपाली सेयर बजारमा असोज महिना आर्थिक गतिविधि र कारोबारका दृष्टिले उत्साहजनक बनेको छ। सेयर कारोबारमा आएको केही सुधार र लगानीकर्ताको सक्रियताले ब्रोकर कम्पनीहरूको आम्दानीमा स्पष्ट छलांग देखाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको हालैको विवरण अनुसार, समीक्षा अवधिमा बजारमा सक्रिय ९१ वटा दलाल व्यवसायी (ब्रोकर) हरूको पोल्टामा कुल ४१ करोड ६७ लाख ६९ हजार रुपैयाँ कमिसनस्वरूप जम्मा भएको छ। यो आँकडाले बजार चलायमान बन्दै गएको र यसको प्रत्यक्ष लाभ ब्रोकरहरूको व्यापारिक हिसाबमा देखिन थालेको प्रष्ट्याउँछ।

साउन र भदौका सुस्त चाललाई तोड्दै असोज महिनामा ब्रोकरहरूको आम्दानी उकालो लागेको छ। भदौ महिनामा ३७ करोड १३ लाख ३० हजार रुपैयाँ मात्रै कमिसन उठाएका यी ब्रोकरहरूले असोजमा आफ्नो कमाइमा ४ करोड ५४ लाख ३९ हजार रुपैयाँले वृद्धि गरेका छन्।

प्रतिशतको हिसाबले यो १२.२३ प्रतिशतको उल्लेख्य बढोत्तरी हो। बजारमा सेयर किटानीको घनत्व बढ्दा त्यसको सिधा असर ब्रोकर हाउसहरूको कमिसन संकलनमा परेको छ, जसले समग्र धितोपत्र बजारमा तरलता र कारोबारको लय फर्किंदै, गरेको संकेत गर्छ।

ठूला ब्रोकरहरूको बलियो पकड

ब्रोकरहरूको यो प्रतिस्पर्धात्मक दौडमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले फेरि एकपटक आफ्नो वर्चस्व कायम राख्यो। असोज महिनामा एक्लै ३ करोड २७ लाख ४७ हजार रुपैयाँ कमिसन आर्जन गर्दै नासा पहिलो स्थानमा उभिन सफल भयो।

यसैगरी, बजारमा सानी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले १ करोड ५४ लाख २२ हजार रुपैयाँको बलियो कमााइसहित दोस्रो स्थान सुरक्षित गर्‍यो। उनीहरूको ठीक पछाडि इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले १ करोड ४७ लाख ८९ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले १ करोड ४० लाख ३ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले १ करोड ३७ लाख ८८ हजार रुपैयाँ कमिसन भित्र्याए।

यसैक्रममा, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) ले १ करोड ३१ लाख ८१ हजार रुपैयाँ कमाउँदा त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले १ करोड १ लाख ९१ हजार रुपैयाँ र एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) ले १ करोड १ लाख ५३ हजार रुपैयाँ संकलन गर्दै करोड क्लबमा आफ्नो नाम दर्ता गराए।

आम्दानीको फराकिलो खाडल

बजारमा केही ब्रोकरहरू करोडौंको कारोबारमा रमाइरहँदा ठूलो संख्याका ब्रोकरहरूको आम्दानी भने लाखमै सीमित रह्यो। दीपशिखा सेक्युरिटिजले ९७ लाख ८८ हजार र आर्यतारा इन्भेस्टमेन्टले ९७ लाख ३६ हजार रुपैयाँ कमाउँदा दक्षिणकाली, नेपाल स्टक हाउस, कोहिनूर, नबिल स्टक डिलर र ओपल सेक्युरिटिजले ८० लाखदेखि ९० लाखको हाराहारीमा कमिसन हात पारे।

यसैगरी, प्रिमियर, क्यापिटल म्याक्स, कलश र सुमेरु सेक्युरिटिजको आम्दानी ६० लाखदेखि ७० लाखको बीचमा रह्यो। श्री हरि, क्रिस्टल कञ्चनजङ्घा, अग्रवाल, श्री कृष्ण, सेयर प्रो र प्रिमो सेक्युरिटिजले ५० लाखदेखि ६० लाख रुपैयाँसम्मको कारोबार गरे।

सेक्योर्ड, सुन्धारा, लिन्च, सन र श्वेता सेक्युरिटिजको आम्दानी ४८ लाखदेखि ५० लाखको वरिपरि घुम्यो भने के.बी.एल., एसियन, सिप्राबी, नागरिक स्टक डिलर, साउथ एसियन बुल्स र कुमारी सेक्युरिटिजले ४१ लाखदेखि ४७ लाख रुपैयाँसम्म कमिसन प्राप्त गरे।

तर, बजारको अर्को पाटो पनि कम रोचक छैन। केही ब्रोकर कम्पनीहरूको आम्दानी भने निकै न्यून विन्दुमा खुम्चियो। नेप्सेको तथ्यांक अनुसार असोजमा सबैभन्दा कम कमिसन संकलन गर्नेमा मनी वल्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) रह्यो, जसले जम्मा २ हजार ६५ रुपैयाँ मात्रै कमिसन आर्जन गर्‍यो।

यस्तै, पाहि इन्भेस्टमेन्टले ५६ हजार २९३ रुपैयाँ र बेनी सेक्युरिटिजले ७४ हजार ४१४ रुपैयाँ मात्रै कमाउन सके।

गरिमा, एस.पी.एस.ए., सजिलो, माछापुच्छ्रे, ट्रेडमो, भोले गणेश, ग्लोबल आईएमई, स्वर्णलक्ष्मी, आरविवि, सगरमाथा र हातेमालो फाइनान्सियल सर्भिसेज लगायतका कम्पनीहरूको कमाइ पनि लाखकै सीमाभित्र सीमित बन्न पुग्यो, जसले ब्रोकर बजारभित्रको ग्राहक पहुँच र कारोबारको असमान चित्रलाई प्रष्ट्याउँछ।