शेन्जेनमा बस्दैछ अमेरिका, चीन र रूसका शीर्ष नेताको जमघट, कूटनीतिक प्रतीक कि ठोस परिणाम?
अमेरिका, चीन र रूसका शीर्ष नेताबीच शेन्जेनमा हुन लागेको पहिलो प्रत्यक्ष शिखर सम्मेलनलाई बेइजिङले ऐतिहासिक महत्त्वको बताएको छ भने यसले भूराजनीतिक प्रतिस्पर्धालाई नियन्त्रणमा राख्न सघाउने अपेक्षा गरिएको छ।
काठमाडाैँ । हङकङसँग सीमा जाेडिएकाे चिनियाँ शहर शेन्जेनमा आगामी बिहीबार (३ मंसिरमा) हुन गइरहेको शिखर सम्मेलनको ठूलो ऐतिहासिक महत्त्व रहने बेइजिङले बताएको छ। उक्त सम्मेलनमा अमेरिका, चीन र रूसका शीर्ष नेताहरूबीच भेटघाट हुने बताइएकाे छ ।
चीनमा तीन देशका नेताहरूबीच हुन लागेको यो बैठकको सांकेतिक महत्त्वलाई सराहना गर्दै सोमबार बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो।
चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले एपीईसी शिखर सम्मेलनको साइडलाइनमा शेन्जेनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस शिखर सम्मेलनको आयोजना गर्नेछन्।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले तीन देशका राष्ट्राध्यक्षहरूबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताउँदै आगामी शेन्जेन शिखर सम्मेलनले ऐतिहासिक महत्त्व राख्ने स्पष्ट पारिन। उनका अनुसार तीनै देशका नेताहरूले विश्व शान्ति रक्षा र प्रमुख देशहरूको सम्बन्धमा सामरिक स्थिरता प्रवर्द्धन गर्ने विषयमा गहिरो विचार विमर्श गर्नेछन्।
साथै, चीन, रूस र अमेरिकाबीच संवादलाई बलियो बनाउने, मतभेदहरू व्यवस्थापन गर्ने र सम्बन्धलाई स्थिर राख्ने कुराले तीनटै देशको हितमा काम गर्ने उनले थपिन्।
संकेत र यथार्थताबीचको एजेन्डा
यो बैठक ठोस परिणामभन्दा बढी सांकेतिक हुने सम्भावना रहेको छ। अमेरिकी अधिकारीहरूले यसको एजेन्डा युक्रेन युद्ध, पश्चिम एसियाको परिस्थिति, विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरीकरण र आणविक हातहतियार नियन्त्रण रहेको संकेत गरेका छन्।
यी कुनै पनि मुद्दामा ठोस परिणाम निस्कन्छ वा निस्कँदैन भन्ने कुरा भने हेर्न बाँकी नै छ।
यद्यपि, यसले चीनभित्रको उत्साहलाई भने घटाएको छैन, जहाँ सरकारी सञ्चारमाध्यमले यस बैठकको महत्त्वको प्रशंसा गरेका छन्। बेइजिङले आधिकारिक रूपमा अमेरिकासागको ‘जी-टू’ वा रूससहितको ‘जी-थ्री’ जस्ता शब्दावलीहरूलाई पन्छ्याउँदै बहुध्रुवीयताको समर्थन गर्दै आएको छ।
यसैबीच, चीनले बैठक आयोजना गरेको सांकेतिक तथ्यलाई बेइजिङको विश्वव्यापी कद उच्च रहेको देखाउन प्रयोग गरिएको छ।
भूराजनीतिक दृष्टिकोण
ग्लोबल टाइम्समा प्रकाशित एक सम्पादकीयमा भनिएको छ- ‘चीन, रूस र अमेरिका फेरि एक पटक आमनेसामने भएर वार्ताको टेबलमा बस्ने तथ्यले चिनियाँ विशेषतासहितको कूटनीति नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दछ, जुन सक्रिय नेतृत्व र व्यवस्थित निर्माणले युक्त छ। शेन्जेनमा हुने यो बैठक स्थिर र जिम्मेवार प्रमुख देशको रूपमा चीनको छविलाई अन्तर्राष्ट्रिय समुदायले उच्च मान्यता दिएको एक ज्वलंत उदाहरण हो।’
यस खालको त्रिपक्षीय बैठकलाई ‘नयाँ प्रभावक्षेत्र बाँडफाँट गर्ने’ वा ‘नयाँ याल्टा प्रणाली’ स्थापना गर्ने भनेर आलोचना गर्नेहरूप्रति लक्षित गर्दै सम्पादकीयमा थप भनिएको छ- ‘त्यस्ता व्यक्तिहरूले इतिहासको एकपक्षीय दृष्टिकोण मात्र राखेका छन् र ऐतिहासिक ढाँचाहरूलाई बेवास्ता गरेका छन्। उनीहरू प्रमुख देशहरूको जिम्मेवारीलाई बेवास्ता गरी शक्तिको पक्षमा मात्र जोड दिन्छन् र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रीकरणको आदर्शलाई नै गुमाउन पुग्छन्।’
विशेषज्ञहरूको आकलन
प्रतीकवादलाई एक छेउमा राख्दा, चीनका थोरै मात्र विशेषज्ञहरूले ठोस परिणामको अपेक्षा गरेका छन्। एकातर्फ चीन र अमेरिकाबीच बढ्दो रणनीतिक प्रतिस्पर्धा र अर्कोतर्फ रूस र पश्चिमा देशहरूबीचको गहिरिँदो खाडल, विशेष गरी जारी युक्रेन युद्धका कारण यो सहज छैन।
शाङ्हाइ इन्स्टिच्युट्स फर इन्टरनेशनल स्टडीजअन्तर्गत अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक सु लिउक्याङले गत हप्ता सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा बताए अनुसार यी तीन देशमध्ये रूस यो शिखर सम्मेलनका लागि सबैभन्दा बढी उत्साही थियो। उनले औपचारिक र व्यवस्थित त्रिपक्षीय शिखर सम्मेलनभन्दा अनौपचारिक आदानप्रदानको सम्भावना बढी रहेको औंल्याए।
उनका अनुसार एकातर्फ संयुक्त राज्य अमेरिकामा पर्याप्त राजनीतिक प्रतिरोध रहेको छ र युक्रेन तथा युरोपलाई बाइपास गरेर मस्कोसँग वार्ता गर्न विरोध गर्दै अमेरिका र उसका युरोपेली सहयोगीहरू दुवैमा रूसविरोधी भावना अझै बलियो छ।
अर्कातर्फ, तीनटै देशका आ-आफ्ना प्राथमिकताहरू फरक छन्। रूसको मुख्य चासो युक्रेनमा युद्धविरामको वार्ता गर्ने हो, अमेरिका युक्रेन द्वन्द्व र गैर-प्रसारमा रुचि राख्छ भने चीन शान्ति वार्ताबारे समर्थन गर्दै अमेरिका, रूस, युरोप र युक्रेनसँगको सम्बन्धमा सन्तुलन कायम गर्न चाहन्छ।
‘यही सन्दर्भमा, न्यून स्तरको त्रिपक्षीय बैठक नै बढी यथार्थपरक विकल्प हो र यसका व्यावहारिक परिणामहरूले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरीकरणमा जोड दिन सक्नेछन्,’ प्राध्यापक सु लिउक्याङलाइ उद्धृत गर्दै द हिन्दुले लेखेकाे छ ।















