भारतमा थोक मुद्रास्फीति १२.३ प्रतिशतमा उक्लियो, ब्याजदर बढ्ने सम्भावना प्रचुर; नेपाली बजार पनि प्रभावित हुँदै
भारतमा थोक मुद्रास्फीति १२.३ प्रतिशत पुगेसँगै अब बैंकहरूको ब्याजदर बढ्ने र उपभोक्ता मूल्य थप महँग्ने निश्चितप्रायः भएको छ। याे महँडीकाे राप नेपाली उपभाेक्ता बजारमा पनि मज्जैसँग देखिँदै छ ।
काठमाडाैँ । भारतमा अक्टोबर २०२६ मा थोक मुद्रास्फीति बढेर १२.३ प्रतिशत पुगेको छ। सोमबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार लगातार दोस्रो महिना पनि थोक मुद्रास्फीति दोहोरो अङ्कमा कायम रहेको छ। यसको मुख्य कारण इन्धनको मूल्यमा भएको तीव्र वृद्धि रहेको छ, जहाँ कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास क्षेत्रको मुद्रास्फीति ७० प्रतिशतभन्दा बढी देखिएको छ।
वाणिज्य तथा उद्योग मन्त्रालयद्वारा जारी थोक मूल्य सूचकांकको नयाँ शृङ्खला अप्रिल २०२४ देखि मात्रै उपलब्ध भएकाले लामो अवधिको ऐतिहासिक विश्लेषण गर्न सम्भव नभएकाे खबर द हिन्दुले लेखेकाे छ ।
यद्यपि, उपलब्ध तथ्याङ्कले सो अवधिपछिको यो सबैभन्दा उच्च मुद्रास्फीति रहेको देखाएको छ। यसअघि गत हप्ता सार्वजनिक गरिएको उपभोक्ता मूल्य सूचकांकको तथ्याङ्कले पनि अक्टोबर २०२६ मा खुद्रा मुद्रास्फीति भारतीय रिजर्भ बैंकको ६ प्रतिशतको माथिल्लो सीमाभन्दा माथि पुगेको पुष्टि गरेको थियो।
बैंक अफ बरोडाका प्रमुख अर्थशास्त्री मदन सबनवीसका अनुसार थोक मुद्रास्फीतिले उपभोक्ताले तिर्ने मूल्यमा थप वृद्धिको रूप लिनु केवल समयको मात्र कुरा हो। उनले विशेष गरी प्रशोधित वस्तुहरूको मूल्यमा ९.५ प्रतिशतले वृद्धि भएको औँल्याए। कपडा, सुर्तीजन्य उत्पादनहरू, रसायन, रबरजन्य उत्पादनहरू, धातुहरू र विद्युतीय उपकरणहरूमा उच्च मुद्रास्फीति दर देखिएको छ।
सबनवीसले यसले कम्पनीहरूलाई कुनै न कुनै विन्दुमा आफ्ना उत्पादनहरूको मूल्य बढाउन दबाब दिने बताए। उद्योगहरूको गतिविधिका आधारमा यो असर आगामी महिनाहरूमा खुद्रा मूल्य सूचकांकको मुख्य भागमा समेत झल्किने उनको भनाइ छ।
बजाय ब्रोकिङ प्राइभकी उपाध्यक्ष पायल वी. पण्ड्याले उच्च थोक मूल्य मुद्रास्फीतिले डिसेम्बरमा आरबीआईले ब्याजदर बढाउने सम्भावनालाई लगभग निश्चित बनाएको बताइन्। यसले अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पार्ने उनको तर्क छ। अक्टोबर २०२६ मा थोक मुद्रास्फीति बढेर १२.३९ प्रतिशत पुग्नुले उच्च खुद्रा मुद्रास्फीतिमा देखिएका चिन्ताहरूलाई थप बल पुर्याएको उनले बताइन्।
यसको परिणामस्वरूप आगामी डिसेम्बरमा हुने मौद्रिक नीति समितिको बैठकमा रिजर्भ बैंकले ब्याजदर बढाउने निर्णय गर्न लगभग निश्चित जस्तै देखिएको छ। ब्याजदरमा हुने वृद्धिले ऋण प्रवाह, लगानी र उपभोगलाई प्रभावित पार्न सक्ने तथा वित्तीय क्षेत्रको मनोबल दबाबमा रहन सक्ने उनले थपिन्। रुस-युक्रेन क्षेत्रमा भूराजनीतिक तनाव पुनः देखा पर्दा मुद्रास्फीति र आर्थिक वृद्धिका जोखिमहरू अझ बढेका छन्।

खाद्य र इन्धनले बढायो महँगी
थोक मूल्य सूचकांक अन्तर्गत अक्टोबर २०२६ मा खाद्य मुद्रास्फीति बढेर ८.३ प्रतिशत पुगेको छ, जुन पछिल्लो २२ महिनायताकै उच्च हो। सोही महिना समग्र इन्धन तथा ऊर्जा वर्गको मुद्रास्फीति झन्डै ३३ प्रतिशत पुगेको छ, जबकि सेप्टेम्बर २०२६ मा यो करिब २६ प्रतिशत थियो।
यद्यपि, यो उच्च स्तर सन् २०२५ को अधिकांश समयमा थोक मूल्य सूचकांकको यो क्षेत्र ऋनात्मक रहेको हुनाले न्यून आधारको प्रभावको कारणले पनि भएको हो। त्यसैगरी, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास क्षेत्रको मुद्रास्फीति सेप्टेम्बरको ५७.३ प्रतिशतबाट बढेर अक्टोबर २०२६ मा ७०.८ प्रतिशत पुगेको छ।
गत वर्षको अक्टोबरमा भने यो क्षेत्रको मूल्य ७.२ प्रतिशतले ऋनात्मक रहेको थियो।
भारतीय थाेक बजारमा देखिएकाे याे महँगीकाे असर नेपाली बजारमा पनि सजिलै पुग्ने छ । अहिले नै कयाैँ वस्तुकाे मूल्य निकै बढिसकेकाे नेपाली उपभाेक्ताले महसुस गरिरहेका छन् । देशकाे कुल वैदेशिक व्यापारमा ६० प्रतिशतभन्दा ज्यादा निर्भरता भारतमै रहेकाे र खुल्ला सीमा तथा स्थिर विनिमय दरका कारण अनाैपचारिक व्यापारकाे हिस्सा पनि ठूलै भएका कारण भारतीय महँगीकाे मार नेपाली घर र भान्छासम्म साेझै पुग्छ ।
यसले नेपाली बजारलाइ पनि विस्तारै थप महँगाे बनाउँदै लैजाने जाेखिम देखाएकाे छ ।















