जीडब्लुएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ
काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने प्रविधिलगायत विभिन्न पक्षको मूल्यांकन गर्छ। ओरा ५ ले यी चारवटै परीक्षण क्षेत्रमा राम्रो प्रदर्शन गरेको कम्पनीले जनाएको छ। विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको छ।
विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लुएमको ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली समावेश गरिएको छ। यसमा प्रयोग गरिएको डायु ब्याट्री सेफ्टी टेक्नोलोजीले ब्याट्रीको सुरक्षा थप मजबुत बनाउने कम्पनीको भनाइ छ। त्यस्तै, सवारीसाधनको कम्फर्ट र इन्फोटेनमेन्ट नियन्त्रणका लागि प्रयोग गरिएका म्यानुअल कन्ट्रोलले पनि परीक्षणमा पूर्ण अंक प्राप्त गरेका छन्। यसको स्पिड असिस्टेन्स सिस्टमले समेत प्रभावकारी प्रदर्शन गरेको छ।
आधुनिक चालक सहायता प्रणाली (एडास), बलियो बडी संरचना र अन्य सुरक्षा प्रविधिले ओरा ५ लाई सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेको छ। यसअघि जीडब्लुएमले एएनक्यापबाट पनि पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ। यी अन्तर्राष्ट्रिय उपलब्धिले कम्पनीले आफ्ना सवारीसाधनमा सुरक्षा प्रविधिलाई दिएको प्राथमिकता देखाउँछन्।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिका अनुसार ओरा ५ र हाभल एच ७ ले प्राप्त गरेको यो मान्यताले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका प्रविधि, सुरक्षा र सुविधासहितका सवारीसाधन उपलब्ध गराउँदै आएको छ।
३५ वर्षभन्दा लामो इतिहास बोकेको जीडब्लुएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ। कम्पनीका अनुसार हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। विद्युतीय तथा इन्टेलिजेन्ट सवारीसाधनको विकाससँगै सुरक्षा र प्रविधिलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ।















