४ मंसिर २०८३, शुक्रबार

सेयर बजारको सुस्तताको असर सरकारी राजस्वमा पनि देखियो, ४ महिनामा ३८% ले घट्यो पुँजीगत लाभकर



काठमाडौं । सेयर बजार ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारी राजस्वमा देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा सेयर कारोबारबाट उठ्ने पुँजीगत लाभकर (सीजीटी) ३८.६ प्रतिशतले खुम्चिएको हो।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आवको पहिलो चौमासिकमा सरकारको खातामा २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुँजीगत लाभकर जम्मा भएको छ। जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर ३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो।

महिनागत उतारचढाव: भदौमा उच्च, कात्तिकमा न्यून

चार महिनाको अवधिमा कर संकलनको ग्राफमा ठूलो उतारचढाव देखिएको छ। जसअनुसार चालु आवको पहिलो महिना साउनमा कर संकलन ७१.०४ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्षको साउनमा २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ उठेको थियो। तर, चार महिनामध्ये भदौमा सर्वाधिक ६३ करोड २७ लाख रुपैयाँ लाभकर संकलन भएको छ, जुन गत वर्षको भदौ (६० करोड १४ लाख) को तुलनामा ५.२० प्रतिशतले बढी हो।

त्यसैगरी, असोज महिनामा कर संकलन दोब्बरभन्दा बढीले सुधारिएको देखिन्छ। गत वर्ष असोजमा २४ करोड ३९ लाख रुपैयाँ मात्र उठेकोमा यस वर्ष १०४.४३ प्रतिशतले वृद्धि भई ४९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। तर कात्तिक महिनामा भने कर संकलन १५.६१ प्रतिशतले ओरालो लाग्दै ३२ करोड ११ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कात्तिकमा ३८ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो।

किन घट्यो कात्तिकमा कर?

कात्तिक महिनामा चाडपर्वलगायतका कारण १९ दिन सार्वजनिक बिदा पर्दा सेयर बजार जम्मा ११ दिन मात्र खुल्यो। कारोबार दिन निकै कम हुनु र बजारको गतिविधि सुस्ताउनु नै कात्तिकमा कर संकलन घट्नुको मुख्य कारण देखिएको छ।

सेयर मूल्यमा आउने उतारचढाव र कुल कारोबार रकमले पुँजीगत लाभकरलाई सोझै प्रभावित पार्छ। पछिल्लो तथ्यांकले पुँजीबजारमा देखिएको शिथिलताका कारण सरकारको राजस्व संकलनको एउटा महत्त्वपूर्ण स्रोत खुम्चिएको स्पष्ट देखिन्छ।