प्रयोगशालामा सुन बन्ने दाबीले बजारमा तरङ्ग, के अब सुनको भाउ साँच्चै ‘क्र्यास’ हाेला ?
प्रयोगशाला वा फ्युजन प्रविधिबाट पारोलाई सुनमा बदल्ने दाबी वैज्ञानिक रूपमा चर्चामा आए पनि उच्च लागत, रेडियोधर्मी भण्डारण र नियामकीय चुनौतीका कारण सुनको बजार र मूल्यमा तत्काल असर पर्ने सम्भावना छैन।
काठमाडाैँ । अहिले विश्व बजारमा सुनकाे भाउ लयातार घटिरहेकाे छ । नेपालमा पनि यसकाे सीधा असर देखिएकाे छ । अझ अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर उकालाे लागिरहेकाे भए पनि भारतीय रूपये बलियाे हुन थाल्दा विनिमय लाभ पनि नेपालले पाइरहेकाे छ । भारूकै कारणा नेपाली मुद्रा बलियाे भएर डलर सस्ताे परेपछि गिर्दै गएकाे सुनकाे भाउ अझ सस्ताे बनाउन मद्दत मिलेकाे छ ।
यस्ताे बेला इन्टरनेटमा नयाँ खबरहरू प्रचार भएका छन् । “एलियन मेटल” अर्थात् पृथ्वीभन्दा बाहिरबाट प्राप्त भएकाे धातुकाे रूपमा लिइने सुन अब यहाँका प्रयाेगशालामै बन्न थालेका खबरहरू सार्वजनिक भइरहेका छन् । यसले कृत्रिम हिराका कारण संसारमा प्राकृतिक हिराकाे मूल्य अस्वाभाविक रूपले घटाएकाे विगतकाे इतिहास सम्झाएर अब सुन र चाँदी पहिलेजस्ताे ‘अजेय’ नरहने चर्चा पनि शुरू भइसकेकाे छ ।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित न्युक्लियर फ्युजन स्टार्टअप ‘म्याराथन फ्युजन’ले पारोलाई स्थिर सुनमा रूपान्तरण गरेको दाबी गरेसँगै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा अब फ्याक्ट्री वा प्रयोगशालामै सुन बन्न थालेको र मूल्य घट्ने चर्चा सुरु भएको छ। तर विज्ञहरूले प्रयोगशालामा सुन बन्ने प्राविधिक दाबी र विश्व बजारमा त्यसको व्यावसायिक प्रभावबीच निकै ठूलो अन्तर रहेको बताएका छन्।
के साँच्चै ल्याबमै सुन बनिरहेको छ?
वैज्ञानिक रूपमा एउटा धातुलाई अर्को धातुमा बदल्ने वा रूपान्तरण गर्ने प्रक्रियालाई ‘न्युक्लियर ट्रान्सम्युटेसन’ भनिन्छ। यसका लागि रसायन विज्ञानकाे सामान्य जानकारी जरूरी हुन्छ । संसारका सबै वस्तुहरू एकै उर्जाबाट बनेका हुन्छन् । यसमा केवल प्रोटोनको सङ्ख्या मात्रै फरक हुन्छ । प्राेटाेनकाे संख्या नै त्यो मुख्य कारक हो, जसले कुनै पनि तत्वको रासायनिक पहिचान (तत्व के हो भन्ने कुरा) निर्धारण गर्छ।
न्यूक्लियस भित्र रहेको प्रोटोनको सङ्ख्या परिवर्तन भयो भने तत्व नै पूर्ण रूपमा बदलिन्छ। उदाहरणका लागि, सुनको परमाणुमा ७९ वटा प्रोटोन हुन्बाछ । तर त्यहाँबाट एउटा प्रोटोन निकालिदिने हो भने त्यो ७८ प्रोटोन भएको ‘प्लाटिनम’ बन्दछ। अनि एउटा परमाणु थपिदिने हाे भने त्यही सुन तत्काल ८० वटा प्राेटाेनवाला पाराे (मर्करी) बन्छ ।
हामीले दैनिक जीवनमा प्रयाेज गर्ने हरेक तत्वमा प्राेटाेनकाे संख्या फरक हुन्छ । फलाममा २६, तामामा २९, आल्मुनियममा १३, चाँदीमा ४७, सास फेर्ने अक्सिजनमा ८, नाइट्राेजनमा ७ प्राेटाेन हुन्छन् । अर्थात् सुनकाे परमाणुबाट ५३ वटा प्राेटाेन निकाले हटाइदिने हाे भने त्याे फलाम बन्छ । ६६ वटा प्राेटाेन हटाइदिने हाे भने आल्मुनियम (सिलाबर) बन्छ ।
यही प्राेटाेनकाे संख्याका अाधारमा ११८ तत्वकाे सूची राखेर पेरियोडिक तालिका तपार पारिएकाे हाे, जसमा एउटामात्रै प्रोटोन भएको हाइड्रोजनदेखि क्रमशः २ प्रोटोन भएको हिलियम, ३ भएको लिथियम हुँदै ११८ प्रोटोन भएको ओगानेसनसम्म पुग्छ।
पानी हाइड्राेजन र अक्सिजन मिलेर बन्ने (याैगिक) भएकाले त्यसमा ९ वटा प्राेटाेन हुन्छ । हामीले खाने नुन सोडियम र क्लोरिन मिलेर बनेको हुन्छ। सोडियममा ११ र क्लोरिनमा १७ वटा प्रोटोन हुन्छन्। यसरी नुनको एउटा अणुमा जम्मा २८ वटा प्रोटोन हुन्छन्। चिनी कार्बन, हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ। त्यसैले यसकाे एकै अणुभित्र हुने प्राेटाेनकाे संख्या १८२ वटा हुन्छ ।

अहिलेकाे खेल पनि यही हाे । पृथ्वीमा अधिक मात्रामा पाइने र सस्ताे मूल्यमा उपलब्ध हुने पाराे तथा सिसाका केही प्राेटाेनहरू हटाइदिने हाे भने सुन बन्दछ भनेर वैज्ञानिक प्रयाेगहरू भइरहेका छन् । प्रोटोनको सङ्ख्या घटाउन सके पारो वा सिसालाई सुनमा बदल्न सकिन्छ भन्ने सिद्धान्त लामो समयदेखि स्थापित छ।
शताब्दीयौँदेखि कीमियागरहरू (सामान्य धातुलाई सुन वा चाँदीमा बदल्ने विद्या जान्ने व्यक्सलाइर् अंग्रेजीमा अल्केमिस्ट भनिन्छ)ले पारोलाई सुनमा बदल्ने सपना देख्दै आएका छन्। तर साधारण रासायनिक प्रतिक्रियाबाट प्रोटोनको सङ्ख्या बदल्न सकिँदैन, यो केवल आणविक प्रतिक्रिया (न्यूक्लियर रियाक्सन) बाट मात्र सम्भव हुन्छ।
यसअघि स्विट्जरल्याण्डमा रहेको विश्वको सबैभन्दा ठूलो कण भौतिकशास्त्र (पार्टिकल फिजिक्स) प्रयोगशाला ‘युराेपियन अर्गनाइजेशन फर न्यूक्लियर रिसर्च (सर्न)’ ले आफ्नो ‘लार्ज ह्याड्रन कोलाइडर’मा सिसाका परमाणु ठोक्काएर करिब २९ पिकोग्राम अर्थात् एक ग्रामलाइ १ खर्ब भाग लगाउँदा त्यसकाे २९ भाग बराबर सुनका कण बनाएको थियो । जुन एक सेकेन्डभन्दा निकै कम समयमै नष्ट भएका थिए।
सन् २०२६ को अक्टोबरमा ‘म्याराथन फ्युजन’ ले न्युक्लियर फ्युजनबाट निस्कने न्युट्रोन प्रयोग गरी पारोलाई स्थिर सुनमा बदलेको र सर्नको कीर्तिमानलाई दस गुणाले उछिनेको घोषणा गर्यो। तर यो दाबी स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन र कति परिमाणमा तथा कति लागतमा उत्पादन गरियो भन्ने विवरण पनि स्पष्ट छैन।
प्रयोगशालाको सुन किन ल्याबको हीराभन्दा फरक छ?
प्रयोगशालामा बन्ने सुनको चर्चासँगै विगतमा प्रयोगशालामा उम्राइने हीराले प्राकृतिक हीराको मूल्यमा पारेको असरसँग तुलना गर्न थालिएको छ। यहाँ मूल्यकाे अन्तर नाप्नु अघि प्राकृतिक हिरा र प्रयाेगशालाकाे उत्पादनबीचकाे भेद पनि जान्न जरूरी छ ।
प्राकृतिक हिरा पृथ्वीको सतहभन्दा निकै गहिराइमा करोडौँ वर्षको प्राकृतिक प्रक्रियाबाट बन्छ । पृथ्वीको सतहभन्दा करिब १४० देखि १९० किलोमिटर तल रहेको शुद्ध कार्बनमा अत्यधिक चाप र तापक्रम पर्दा हिरा तयार हुन्छ। त्यहाँ करिब ९००° देखि १,३००° सेल्सियससम्मको तापक्रम र अत्याधिक चाप हुन्छ । यसरी बनेका हिराहरू लाखौँ-करोडौँ वर्षपछि ज्वालामुखी विष्फोट मार्फत म्याग्मासँगै पृथ्वीको सतह नजिक आउँछन्, जसलाई खानी उत्खनन गरेर निकालिन्छ।
तर प्रयोगशालामा प्राकृतिक वातावरणकै नक्कल गरेर केही हप्ताभित्रै हिरा तयार पारिन्छ। यसका दुई मुख्य तरिका छन् । “हाइ प्रेसर, हाइ टेम्प्रेचर” भनिने पहिलाे विधीले पृथ्वीको गर्भमा हुने प्राकृतिक अवस्थाको हुबहु नक्कल गर्छ । यसका लागि मेसिनको भित्री भागमा सानो प्राकृतिक वा कृत्रिम हिराको टुक्रा (बीउ) राखिन्छ, जसको वरिपरि शुद्ध कार्बन (ग्रेफाइट) हुन्छ।
मेसिनले त्यसमा अत्यधिक चाप (करिब ६०,००० वायुमण्डलीय चाप) र १,५००° सेल्सियससम्मको तापक्रम दिन्छ। यसरी अत्यधिक तापले कार्बन पग्लिन्छ र चिसो हुँदै जाँदा पहिले राखिएको ‘हिराको बीउ’ वरिपरि जमेर ठूलो हिराको रूप लिन्छ।
यसपछि विकास भएकाे “केमिकल भ्यापर डिपाेजिशन” प्रविधिले भने विशेष ग्यासको प्रयोग गरेर कम चापमै हिरा तयार पार्छ । यसका निम्ति एउटा भ्याकुम (ग्यास च्याम्बर) मा हिराको सानो पातलो टुक्रा (बीज) राखिन्छ। च्याम्बरभित्र कार्बनयुक्त ग्यास (जस्तै मिथेन) र हाइड्रोजन ग्यास पठाइन्छ र करिब ८००° सेल्सियस तापक्रममा तताइन्छ।
त्यसपछि माइक्रोवेभ वा लेजर ऊर्जा प्रयोग गरी ग्यासका अणुहरूलाई टुक्र्याइन्छ। यसबाट निस्कने शुद्ध कार्बनका परमाणुहरू तल राखिएको हिराको बीउमा तह-तह बनेर टाँसिँदै (जम्दै) जान्छन् र पूर्ण अर्थात् ठूलाे हिरा बन्छ।
यसरी १ देखि ३ अर्ब बर्ष लगाएर बनेकाे प्राकृतिक हिराकाे नक्कल गर्न वैज्ञानिकहरूले २ देखि ६ हप्तामै हिरा तयार पार्ने प्रविधि विकास गरे । अझ राेचक कुरा त, नाङ्गो आँखाले हेर्दा प्राकृतिक र प्रयोगशालामा बनेको हिरा छुट्याउन असम्भव हुन्छ। यसलाई छुट्याउन जेमोलोजिकल ल्याब का विशेष उपकरणहरू चाहिन्छ।
यही कारण प्राकृतिक हिराकाे तुलनामा कृत्रिम हिराकाे मूल्य ७० प्रतिशतसम्म सस्ताे पर्न गयाे । सन् २०१५ यता प्रयोगशालामा बनेका हीराको थोक मूल्य ९० देखि ९५ प्रतिशतसम्म घटेको र त्यसले प्राकृतिक हीराको व्यापारमा दबाब पारेको विश्लेषकहरू बताउँछन्।
तर विभिन्न अन्तरराष्ट्रिय सञ्चार संस्थाहरूले सेन्चुरी फाइनान्सियलका प्रमुख लगानी अधिकारी विजय भालेचा र ईटोरोकी बजार विश्लेषक नाघम हसनलगायतलाइ उद्धृत गर्दै लेखेअनुसार हीरा र सुनको प्रकृति र उत्पादन प्रक्रिया नै फरक छ।
हीरा कार्बनबाट बन्ने भएकाले आवश्यक क्रिस्टल बन्ने अवस्था मिलाएर सस्तोमा उत्पादन गर्न सकिन्छ, जबकि सुन एक रासायनिक तत्व हो। यसको उत्पादनका लागि पारोजस्ता तत्वको केन्द्रक अर्थात् न्युक्लियसलाई आणविक प्रतिक्रियामार्फत रूपान्तरण गर्नुपर्छ। अर्कोतर्फ, रेडियोधर्मी प्रभाव हटेपछि बन्ने सुन रासायनिक रूपमा खानीकै सुनजस्तै हुने भएकाले बजारमा सस्तो विकल्पका रूपमा छुट्टै वर्ग बन्ने सम्भावना कम रहन्छ।
किन तत्काल घट्दैन सुनको मूल्य?
अहिले बजारमा सुनकाे माग र पूर्तिकाे सम्बन्धले घटिरहेकाे भाउसँग याे सम्बन्धित छैन । विज्ञहरूका अनुसार प्रयोगशालामा सुन बन्नु र त्यसले विश्वबजारको मूल्य हल्लाउनु फरक कुरा हुन्। म्याराथन फ्युजनको अनुमानअनुसार भविष्यको एक गिगावाट क्षमताको फ्युजन प्लान्टले वर्षमा करिब पाँच टन सुन उत्पादन गर्न सक्छ र त्यस्ता सयवटा प्लान्ट बने भने वर्षमा करिब ५०० टन सुन थपिनेछ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२५ मा विश्वभर करिब ५ हजार २ टन सुन आपूर्ति भएको थियो, जसमा खानी उत्पादन करिब ३ हजार ६ सय ७२ टन र पुनः प्रयोग गरिएको सुन करिब १ हजार ४ सय ४ टन थियो। यस्तो विशाल बजारमा केही टन वा सयवटा काल्पनिक प्लान्टको सम्भावित उत्पादनले तत्काल ठूलो उलटफेर ल्याउन कठिन छ।
यसबाहेक व्यावसायिक फ्युजन पावर प्लान्ट अझै सञ्चालनमा आइसकेका छैनन् । प्राकृतिक पारोको थोरै हिस्सा मात्र उपयुक्त हुने भएकाले आइसोटोप छुट्ट्याउने जटिलता छ र यस प्रक्रियाबाट निस्कने रेडियोधर्मी पदार्थ सुरक्षित हुन करिब १४ देखि १८ वर्षसम्म भण्डारण गर्नुपर्ने हुन्छ।
त्यसैले सन् २०३० को दशकमा व्यावसायिक प्लान्ट सुरु भए पनि त्यसबाट बनेको सुन बिक्रीमा आउन सन् २०४० को दशकको अन्त्यसम्म लाग्न सक्ने विश्लेषण गरिएको छ।
तथापि, सुन बनाउने प्रयाेशालाका लागि अहिले लाग्ने खर्बाैँ डलरकाे लागत अनुमान र यसकाे विधीहरू सदाका लागि स्थायी नहुन सक्छन् । भविषयमा याेभन्दा भिन्न, सहज र सस्ताे प्रविधिकाे विकास हुन सक्याे भने अहिले अड्कल गरिएकाे समयभन्दा पहिले नै फ्याक्ट्रीले सुन उत्पादन गर्ने दिन अाउन पनि सक्छ । तर हालसम्म त्याे संभावना कुनै क्षितिजमा देखिइसकेकाे छैन ।
बजार र लगानीकर्ताको नजर
दुबई मल्टिकमोडिटिज सेन्टरले सन् २०२६ मा प्रयोगशालामा बनेका हीराका लागि छुट्टै भर्टिकल स्थापना गरेझैँ नयाँ प्रविधि आए बजारले स्थान दिन सक्छ, तर सुनको हकमा मान्यता प्राप्त रिफाइनरी, रेडियोधर्मी जोखिमरहित प्रमाण र नियामकीय मापदण्ड अझै तयार छैनन्।
सन् २०२५ मा दुबईको सुन व्यापार ६० प्रतिशतले बढेर करिब १० खर्ब (१ ट्रिलियन) दिराम पुगेको थियो भने सन् २०२६ को तेस्रो त्रैमासिकमा गोल्ड ईटीएफमा ३१ अर्ब डलरको कीर्तिमानी प्रवाह देखिएको छ।
विश्लेषकहरूका अनुसार अहिलेकै अवस्थामा सुनको मूल्य र मागलाई प्रयोगशालाको प्रविधिले भन्दा केन्द्रीय बैंकहरूको खरिद, ब्याजदरको अपेक्षा र भूराजनीतिक अवस्थाले बढी निर्देशित गरिरहेका छन्।















