७ मंसिर २०८३, सोमबार

भारतले दिने भनेकाे साढे २ खर्बकाे प्याकेजमा के के छ ?



भारतले नेपालको विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधारका लागि ५६ अर्ब नेपाली रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि १८४ अर्ब नेपाली रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

काठमाडाैँ । भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक घनिष्ठ मित्र र छिमेकीको हैसियतले नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएर उक्त घोषणा गरेका हुन् ।

यो सहायता प्याकेजअन्तर्गत नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका परियोजनाहरूका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता पाउने भएकाे छ। त्यसैगरी ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) मार्फत उपलब्ध गराइने संयुक्त वक्तव्यमा बताइएको छ।

घोषित विकास सहायता कुन कुन विशिष्ट परियोजनामा खर्च गर्ने र त्यसको कार्यान्वयन कार्यविधि कस्तो हुने भन्ने विषय आपसी परामर्शमार्फत टुङ्गो लगाइनेछ। नेपालको आवश्यकता र प्राथमिकताका आधारमा दुवै पक्षबीच छलफल गरी परियोजनाहरू छनोट गरिने जनाइएको छ।

विपद्पछिको पुनर्निर्माण र ऊर्जा पूर्वाधारलाई प्राथमिकतामा राखेर आएको यो प्रतिबद्धताले नेपालको भौतिक संरचना पुनःनिर्माण तथा ऊर्जा क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सहायता रकमको उपयोग र प्राविधिक तथा प्रशासनिक प्रक्रियालाई व्यवस्थित बनाउन आगामी दिनमा हुने द्विपक्षीय संवादबाट थप स्पष्टता आउनेछ।

साेमबार भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधारको विस्तारस्वरूप निर्माण भएकाे मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना नेपाली जनतामा समर्पित गरे । यसलाइ उनले ‘लाेकार्पण’ भनेका छन् ।

अब नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि दुई नेताहरूले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । साथै सिलिगुडी र झापाबीचको पेट्रोलियम पाइपलाइनको काम छिट्टै सुरु गर्नेमा जोड दिएका छन्। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्न दुवै पक्ष सहमत भएका छन्।

यसबाट ऊर्जा पूर्वाधारका लागि भनिएकाे बजेटकाे ठूलाे हिस्सा पेट्राेलियम र ग्यास पाइपलाइन तथा टर्मिनलकाे निर्माणमा खर्च हुने संभावना देखिएकाे छ ।