७ मंसिर २०८३, सोमबार

रेलदेखि आईआईटीसम्म, भारतले कस्तो सहायता दियो नेपाललाई ?



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता एवम् भारतका दुई ठूला विमानस्थलमा नेपालको पहूँचका बाहेक कयौँ अरु सहायता गर्ने बताएका छन् ।

उनले सोमबार नयाँ दिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको संयुक्त प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

मोदीले भारत र नेपालको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति तथा जन–जनबीचको गहिरो नाताको धागोमा बुनिएको बताए । उनले भने, ‘भगवान राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाको पहिचान हो ।’

उनले ८ वर्ष अघि जनकपुरको पावन धर्तिमा बोलेको कुरा स्मरण गरे । उनले भने, ‘मैले भनेको थिएँ– नेपालको बिना हाम्रो धाम अधुरो छ । नेपालको बिना हाम्रो राम पनि अधुरै हुन् ।’

दुई वर्षअघि भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भएको थियो । त्यस ऐतिहासिक अवसरले आफूहरुको सामुहिक आस्थामा नयाँ ऊर्जा प्रदान गरेको प्रधानमन्त्री मोदीले बताए ।

सन् २०२५ मा मात्रै भारतीय र गैह्रभारतीय गरी करीब ३० करोड दर्शनार्थीले राम मन्दिरको दर्शन गरेको मोदीले बताए । साथै आजैबाट सुरु भएको ‘सरयु–कमला एक्सप्रेस’का माद्यामबाट दुई देशबीचको यस पवित्र नातालाई एक नयाँ आयाम दिन लागिएको पनि मोदीले बताए ।

यसले अयोध्या पुग्ने हरेक दर्शकका लागि अब जनकपुर पुगेर माता सीताको दर्शन गर्न सुगम हुने उनले बताए । लुम्बिनी र बोधगया सहित दुबै देशका बौद्ध र शिव–शक्तिसँग सम्बन्धित पवित्र र्तीथहरुबीच कनेक्टिभिटी बढाउनका लागि दुबै देशले मिलेर काम गर्ने उनले बताए ।

आजै नेपालको दार्चुला र भारतको उत्तराखण्ड जोड्ने धार्चुला सडक पुलको उद्घाटन गरेको र वनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरेको पनि उनले बताए । उनले नेपालतर्फको दोधारा–चाँदनी एकीकृत जाँच चौकीको निर्माण कार्य पनि शीघ्रताका साथ अघि बढाउने बताए ।

यी पहलबाट उत्तराखण्ड र नेपालबीच व्यापार तथा नागरिकको आवतजावत ज्यादा सुविधायुक्त हुने उनको भनाइ थियो । साथै, विहार, उत्तरप्रदेश र भारतका अन्य राज्य र नेपालका बीच सडक, रेल र र्बोडर कनेक्टीभिटीका परियोजनाहरुलाई समेत नयाँ गति दिने बताए ।

उनले नेपालका नदीहरुमा स्वच्छ ऊर्जाको ‘अपार संभावना’ रहेको पनि दोहोर्‍याए । भारतको विशाल ऊर्जा बजारले नेपालको अर्थिक विकासका यी संभावनाहरुलाई मजबूत आधार दिनसक्ने पनि उनको तर्क थियो ।

तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यासर अरुण ३ जलविद्युत् आयोजनाको निर्माण कार्यलाई समयमै सम्पन्ने गर्ने आफूहरुको प्रतिबद्धतालाई सोही भिजनको हिस्साको रुपमा लिइएको मोदीले बताए ।

भारत कयौँ वर्षदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य आवस्यक वस्तुहरुको विश्वसनीय आपूर्तिकर्ता रहँदै आएको उनले स्मरण गरे ।

‘हाम्रो छिमेकी पहिलो भन्ने भावनाका अनुरुप यो वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीका बावजुद पनि हामीले नेपालालाई इन्धन, मलखाद र अन्य आवस्यक वस्तुको आपुर्ति जारी राख्यौँ’, उनले भने, ‘आज मोतिहारी अमलेखगञ्ज पाइपलाइनको फेज–२ को लोकार्पण र झापा पेट्रोलियम टर्मिनलको शिलान्यासले यो साझेदारीलाई अझ मजबूत बनाउने छ ।’

नेपालको युवा पुस्तामा प्रतिभा, ऊर्जा र ठूला सपनाहरु भरीपूर्ण रहेको उनले बताए । उनीहरुको सपना साकार पार्न भारत पुरा प्रतिबद्धताका साथ सहभागी बन्न चाहेको पनि उनले बताए ।

यसै संकल्प साकार गर्नका लागि भारतले नेपालमा ‘स्टार्टअप इन्कुभेटर’, ‘इन्नोभेशन हब’ र ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी’को एक ‘अफशोर क्याम्पस’ स्थापना गर्ने प्रधानमन्त्री मोदीले बताए ।

नेपाली विद्यार्थीका लागि भारतमा कानून र प्रविधि विषय अध्ययनका लागि छात्रवृत्तिको दर बढाउने पनि उनले बताए । साथै खाद्य प्रशोधन तथा मूल्य अभिबृद्धिलाई बढावा दिनका लागि नेपालमा ‘एग्रो इन्डस्ट्रियल पार्क’ निर्माण गर्नमा पनि आफूले सहयोग गर्ने मोदीले बताए ।

उनले रामायणका कथा र सन्देशहरु फिल्म तथा सामाजिक सञ्जालका माध्यमबाट नयाँ पुस्तामा व्यापक रुपमा पुगिरहेको भन्दै अब यस्ता सन्देशलाई नवीन प्रविधिमार्फत् संसारभर पुर्‍याउन भारत र नेपाल दुबै देशका युवा क्रियटरहरुले मिलेर काम गरुन् भन्ने आफूले चाहेको पनि उनले सुनाए । यसका लागि आगामी वेव समीटमा नेपालबाट ठूलो संख्यामा सहभागिताका लागि आफूहरुले स्वागत गर्ने पनि बताए ।

खेलकुदका क्षेत्रमध्ये खासगरी क्रिकेटका लागि नेपालमा पूर्वाधार विकास र खेलाडीहरुको तालिमका निम्ति सहयोग बढाउने प्रतिबद्धता मोदीले जनाएका छन् । उनले दुई देशको साझा भविष्यलाई ‘नयाँ दिशा’ दिनका लागि एक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ सार्वजनिक गरिएको उनले बताए ।

‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ का आ–आफ्ना संकल्पहरुलाई मिलेर साकार पार्ने ‘ब्लू प्रिण्ट’का रुपमा उक्त दस्तावेज रहने उनले बताए । उनले भने, ‘हामीसँग प्रस्ट लक्ष्य छ, आपसी विस्वास छ र त्यसलाई साकार पार्ने सामथ्र्य पनि छ । सबैभन्दा ठूलो कुरा त, हामीसँग माता सीता, भगवान राम र भगवान बुद्धको आशीर्वाद छ ।’