प्रधानमन्त्री भारतबाट फर्केसँगै मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, तेस्रो स्थानमा उक्लिइन् सोविता
प्रधानमन्त्री भारत भ्रमणबाट स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ, जससँगै कानुनमन्त्री सोविता गौतम सातौँबाट तेस्रो स्थानमा उक्लिएकी छन्।
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत १३ चैत २०८२ मा गठित मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरिएको हो। यो नयाँ व्यवस्था बिहीबारदेखि नै लागू भएको छ।
नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन्।
यसअघि गत २५ भदौमा गरिएको मर्यादाक्रम हेरफेरमा उनी सातौँ स्थानमा थिइन् भने तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका थिए।
महाधिवेशनको पाँच महिनापछि बढ्यो वरीयता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सम्पन्न भएको पाँच महिनापछि मन्त्रिपरिषद्भित्र गौतमको वरीयता उक्लिएको हो। पार्टी संरचनाभित्र उनी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र उपसभापति स्वर्णिम वाग्लेपछि चौथो वरीयतामा रहँदै आएकी छन्।
पार्टीको उपसभापतिसमेत रहेकी गौतमलाई मन्त्रिपरिषद्को तल्लो वरीयतामा राख्न नहुने आवाज पहिलेदेखि नै उठ्दै आएको थियो। तर प्रधानमन्त्री र अर्थमन्त्री दुवै देशबाहिर रहेको अवस्थामा कार्यवाहक वा सत्ताको नेतृत्व सोविताको हातमा पुग्ने सम्भावना देखिएपछि सरकारले उनको वरीयता तत्काल बढाउन आनाकानी गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्र सरकारले यो हेरफेर अगाडि बढाएको हो।
मन्त्रीहरूको नयाँ वरीयताक्रम
संशोधित मर्यादाक्रमअनुसार अब प्रधानमन्त्री बालेन्द्र शाहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो स्थानमा कानुनमन्त्री सोविता गौतम रहेका छन्। त्यसपछिको क्रममा चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल, पाँचौँमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, छैटौँमा गृहमन्त्री सुधन गुरुङ र सातौँमा पूर्वाधारमन्त्री सुनिल लम्साल कायम भएका छन्।
त्यसपछिको वरीयतामा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, प्रतिभा रावल र निशा मेहता रहेका छन्। त्यस्तै शिक्षामन्त्री सस्मित पोखरेल, पर्यटनमन्त्री खडक राज पौडेल, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, उद्योगमन्त्री दिपककुमार साह र श्रममन्त्री रामजी यादव क्रमशः सोही मर्यादाक्रमअनुसार रहने जनाइएको छ।
















