मोलुङ हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, साढे १२ लाखको हात रित्तो
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भोलि (फागुन १९ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा भोलि बिहान १० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा माग भन्दा ७।३२ गुणा बढीको आवेदन परेको छ । त्यस कारण कम्पनीको आइपीओ पाउन भाग्य कै भर पर्नु पर्ने छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा २ लाख २६ हजार ४६५ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार ११८ जनाको भने हात रित्तो हुने देखिएको छ ।
कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म जारी गरेको आइपीओमा १४ लाख ८७ हजार ५८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो ।













