बिपिडब्लु लघुवित्तको आइपीओमा दोस्रो दिन मै ८५ गुणा बढीको आवेदन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन १९ गते) दिँउसो सम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ८५.६८ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६।९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०।५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म पनि भर्न पाइनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।













