१० श्रावण २०८३, आइतबार

फराकिलो बन्दै बीमाको दायरा, ४५ प्रतिशत नेपालीमा पुग्यो पहुँच

फराकिलो बन्दै बीमाको दायरा, ४५ प्रतिशत नेपालीमा पुग्यो पहुँच



काठमाडौं । करिब ४५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा बीमाको दायरा ४४.७० प्रतिशत पुगेको हो । यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको सहितको हो ।गत वर्षको समिक्षा अवधिको तुलनामा भने बीमाको पहुँच ११.४७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा बीमाको पहुँच ३३.२३ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

जनसंख्याको विवरण राष्ट्रिय तथ्याङ्क कार्यालय २०७८ सालमा प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनमा जनसंख्या र वैदेशिक रोजगार बीमालेखको संख्यामा आधारमा गणना गरिएको प्राधिरणले जनाएको छ ।

प्राधिकरणले संस्थागत तथा संरचनागत सुधारका कारण पनि बीमाको पहुँच बढेको जनाएको छ । प्राधिकरणले पछिल्लो समयमा स्थानीय तहसंगको समन्वयमा बीमाको दायरा फराकिलो बनाउने तथा जनचेतना अभिवृद्धि गर्ने लगायतको बीमा पहुँच बढाउने अभियानलाई समेत तिव्रता दिएको छ । प्राधिकरणले खासगरि जीवन बीमा मार्फत अनिवार्य बचत परिचालन र जोखिम व्यवस्थापनलाई संगसंगै लैजाने, सबै प्रकारका सम्पत्तिको बीमाका लागि व्यवस्थापन मिलाउने, जनचेतना अभिवृद्धि गर्ने, कृषि बीमामा प्राप्त हुने अनुदान स्थानीयस्तरमा लैजाने र न्युन आय भएका वर्गलाई बीमाको दायरामा ल्याउने उदेश्य अनुरुप बीमा सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु धमाधम गरिरहेको छ, जसले सर्वसाधारणमा बीमाप्रति चेतना जगाएको छ ।

जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा रहेको बीमालाई आम नागरिकको दैनिकीसँग जोड्नका लागि प्राधिकरणले प्रदेश तथा स्थानीय सरकारहरूसँग छलफल एवम् अन्तरक्रिया लगायतका कार्यक्रमहरू समेत आयोजना गरी आवश्यक पहल गर्दै आइरहेको प्राधिकरणले जनाएको छ । आगामी दिनमा अझै प्रभावकारी रुपमा उल्लेख्यरुपले बढ्दै जाने प्राधिकरणले जनाएको छ ।

चालु आवको माघ महिनामा बीमा कम्पनीहरुले कुल १ खर्ब ६ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत वर्षको सोही अवधिको तुलनामा भने ३.२४ प्रतिशतले मात्र बढी हो । चालु आवको माघ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा जीवन बीमा कम्पनीले कुल १ करोड ४२ लाख ६० हजार १३९ बीमालेख जारी गरेका छन् । सो अवधिमा जारी निर्जीवन बीमालेखको संख्या भने १६ लाख ३६ हजार २८४ रहेको छ ।

यता, वैदेशिक रोजगार बीमालेख पनि ६१.६६ प्रतिशतले बढेको छ । चालु आवको माघ महिनासम्म जारी वैदेशिक बीमालेखको संख्या १३ लाख ६० हजार ३८८ रहेको छ । तर, गत वर्षको समिक्षा अवधिमा भने ८ लाख ४१ हजार ५३० मात्रै रहेको थियो ।

प्राधिकरणका अनुसार चालु आवको माघ महिनासम्ममा बीमा कम्पनीहरुमो कर्मचारी संख्या ११ हजार ५३८ र बीमा कम्पनीको कार्यालय ३ हजार २५९ रहेको छ ।