१० श्रावण २०८३, आइतबार

सम्पत्ति बीमा गर्नेको संख्या बढ्दै: ३८५ प्रतिशतले बढ्यो व्यवसाय, उठाए ५ अर्ब बढी प्रिमियम

सम्पत्ति बीमा गर्नेको संख्या बढ्दै: ३८५ प्रतिशतले बढ्यो व्यवसाय, उठाए ५ अर्ब बढी प्रिमियम



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा मार्फत ७ महिनासम्ममा ५ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो समय सम्पत्तिको बीमा गर्नेको संख्या बढेसंगै बीमा शुल्क पनि वृद्धि भएको हो ।

सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुको सम्पत्ति बीमा व्यवसाय मार्फत ५ अर्ब १४ करोड ७० लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन चालु आवको पहिलो महिना अर्थात साउनको तुलनामा ३८४.७८ प्रतिशतले बढी हो । माघ महिनासम्ममा कम्पनीहरुले सम्पत्ति बीमा अन्तर्गत कुल २ लाख ८७ हजार १६ बीमालेख जारी गरेका छन् ।

गत साउनमा महिनामा भने कम्पनीहरुले सम्पत्ति बीमा मार्फत १ अर्ब ६ करोड १७ लाख ११ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । सो महिनामा भने कम्पनीहरुले सम्पत्ति बीमाका लागि ४३ हजार ५३८ बीमालेख जारी गरेका थिए ।

गत पुस महिनासम्ममा भने सम्पत्ति बीमा मार्फत कम्पनीहरुले कुल ४ अर्ब ४६ करोड ८५ लाख ८५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधि सम्ममा भने कम्पनीहरुले यस अन्तर्गत कुल २ लाख ४५ हजार ५५३ बीमालेख जारी गरेका थिए ।

यस्तै, मंसिर ३ अर्ब ४७ करोड ३१ लाख ३० हजार रुपैयाँ, कात्तिकमा २ अर्ब ८७ करोड १२ लाख ८९ हजार, असोजमा २ अर्ब ३५ करोड ७२ लाख २९ हजार र भदौमा १ अर्ब ७३ करोड ६१ लाख २० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरुले यी महिनामा सम्पत्ति बीमा अन्तर्गत क्रमशः २ लाख १ हजार ५८४, १ लाख ६३ हजार २५६, १ लाख ३० हजार २३८ र ८९ हजार ६६३ बीमालेख जारी गरेका थिए ।

चालु आवको माघ महिनासम्ममा सम्पत्ति बीमा अन्तर्गत सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशबाट संकलन भएको छ । सो अवधिमा बागमतीबाट कम्पनीहरुले कुल २ अर्ब ९५ करोड ७२ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बागमती प्रदेशमामा सम्पत्ति बीमा अन्तर्गत कम्पनीहरुले १ लाख ७ हजार २९९ बीमालेख जारी गरेका छन् ।

दोस्रो स्थानमा रहेको कोशी प्रदेशबाट ६९ करोड ६६ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा सम्पत्ति बीमा गर्ने बीमा कम्पनीहरुले ४४ हजार ४ सय बीमालेख जारी गरेका थिए ।

तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट ५५ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सम्पत्ति बीमा गर्ने निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशमा ४८ हजार १०६ बीमालेख जारी गरेका थिए । सो अवधिमा सबैभन्दा कम सम्पत्ति बीमा मार्फत कर्णाली प्रदेशबाट ५ करोड ३८ लाख ७ हजार बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमा अन्तर्गत ९ हजार ५२२ बीमालेख जारी गरेका छन् ।

यस्तै, मधेश प्रदेशबाट सम्पत्ति बीमा मार्फत ४८ करोड ८२ लाख ९५ हजार, गण्डकी प्रदेशबाट २४ करोड ९७ लाख ५३ हजार र सुदुरपश्चिमबाट १४ करोड ७३ लाख ९१ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । यी प्रदेशमा सम्पत्ति बीमा अन्तर्गत कम्पनीहरुले क्रमशः २७ हजार ८५०, ३१ हजार २८३ र १८ हजार ५५६ बीमालेख जारी गरेका छन् ।