निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु, वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ र यसकालागि सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनु पर्ने बताए ।
उनले भने “म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु, तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस्,त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ।”
कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आएको बताए । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए ।
“कोरोनाभाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरुबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरुलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए बैंकहरुले पनि सहजरुपमा कर्जा दिएको थियो । उद्योगी व्यवसायीहरुले कर्जा लिएर घर जग्गा किनेको पनि हो,”उनले बताएका छन् । “तर कोरोनाभाइरसपछि जब वैदेशिक रोजगारमा जाने क्रममा कमी आयो, गएकाहरु पनि फर्किने क्रम बढ्यो । पर्यटकहरु आउने क्रम रोकियो । तब, बैंकमा रहेको तरलता सकिदै गयो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तरलता व्यवस्थापन गर्नका लागि मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशत जस्तो व्याज बढाउने नीति लियो त्यसको कारण करिब ८ प्रतिशत मात्र तरलता बैंकमा आयो । तर, यसले बैंकको लागत बढ्न गयो । बैंकको व्याज बढेपछि तरलता बढ्छ भनेको सकेन ।”
उनले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरेका छन् । “वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ र विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ र आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने विश्वास छ,” उनले भने ।
साथै, हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उनले बताएका छन् । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले महासंघको विधानमा रहेका केही प्रावधानहरु नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने ढकालले बताएका छन् ।













