७ महिनामा साढे ५३ हजार वटा बीमा पोलिसी बन्द, माघको सरेन्डर यो वर्षकै उच्च
७ महिनामा साढे ५३ हजार वटा बीमा पोलिसी बन्द, माघको सरेन्डर यो वर्षकै उच्च
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर भएको छ ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार माघ मसान्तसम्ममा ७ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ ।
संख्याको आधारमा ५३ हजार ५५४ वटा बीमालेख सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिस) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ ।
बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ ।
पहिला बीमा गरेको २ बर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक बर्षदेखि त्यसको न्यूनतम सिमा ३ बर्ष पुर्याइएको बीमा प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय बजार महंगी बढ्दा आम मासिनको क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक संकट समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको बीमा कम्पनीहरुका अधिकारीहरु बताउछन् ।
गत साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर भएको थियो । यसैगरि भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा पोलिसी सरेन्डर भएमको देखिन्छ ।
असोजमा भने १ अर्ब भन्दा कम अर्थत ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा पोलिसी भएको छ । यस्तै, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा पोलिसी सरेन्डर भएको छ ।
यसैगरि मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा पोलिसी सरेन्डर भएको छ । पुसमा पुनः १ अर्ब भन्दा कम अर्थात् ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएको छ । माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा पोलिसी सरेन्डर भएको छ । माघको सरेन्डर यो बर्षकै उच्च हो ।













