लघुवित्तले सेयरमा लगानी ३९ प्रतिशतले बढाए, मुद्दति निक्षेपमा मात्रै साढे ७ अर्ब बढी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी ९ अर्ब बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार सो अवधिमा लघुवित्तको कुल लगानी ९ अर्ब ३६ करोड ९८ हजार रुपैयाँ रहेको छ । जुन, गत असार मसान्तसम्मको तुलनामा ५३.७२ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा लघुवित्तले ६ अर्ब ९ करोड ५५ लाख रुपैयाँ लगानी गरेका थिए ।
राष्ट्र बैंकका अनुसार लघुवित्तले सबैभन्दा धेरै मुद्दति निक्षेपमा लगानी बढाएका छन् । चालु आवको ६ महिनामा कम्पनीले मुद्दति निक्षेपमा ७०.८४ प्रतिशतले लगानी बढाएर ७ अर्ब ६० करोड ५५ लाख रुपैयाँ पुर्याएका छन् । गत असार मसान्तसम्ममा भने ४ अर्ब ४५ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेका थिए ।
चालु आवको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुले सेयर तथा डिवेन्चरमा १३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत असार मसान्तसम्मको तुलनामा ३८.९९ प्रतिशतले बढी हो । गत असार मसान्तसम्मा कम्पनीको यस्तो लगानी ९ करोड ३५ लाख रुपैयाँ मात्रै रहेको थियो ।
यस्तै, सरकारी सुरक्षणपत्रमा भने ८८ करोड ३१ लाख र अन्य लगानीमा ११ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।