३० श्रावण २०८३, शनिबार

सिटिजन्स बैंकको उच्च प्राथमिकतामा डिजिटल बैंकिङ्ग, एकै साथ ४ प्रदेशमा किओस्क र एटीएम सेवा विस्तार



काठमाडौं । सिटिजन्स बैंकले डिटिटल बैंकिङ्ग सेवालाई उच्च प्राथमिकता दिएको छ । बैंकले एकै साथ चार प्रदेशमा किओस्क तथा एटीएम सेवा विस्तार गरेको हो ।

करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको किओस्क सेवा अब काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको हो ।

एक समारोहका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो सेवाको उद्घाटन गरे । यो सेवा काठमाडौं उपत्यकाको कलँकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगँज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरि एकसाथ ५ शाखामा सञ्चालनमा ल्याउनुका साथै कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरि एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ ।

साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले पोखरेले बताए । किओस्क सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिनेछ ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहक महानुभावहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ किओस्क सेवाको विस्तार गरिएको बैंकले जनाएको छ । यस्ता सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने बैंकले विश्वास लिएको छ । सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ ।