२ मंसिर २०८३, बुधबार

काठमाडौँका बजार २४ घण्टा खुल्दै, पूर्वाधार जुटाउन प्रशासनले थाल्यो रणनीतिक तयारी



पूर्वाधार र सुरक्षाको बलियो प्रबन्ध मिलाएर काठमाडौँका बजारलाई चौबीसै घण्टा खुला गराउने आन्तरिक गृहकार्यमा जिल्ला प्रशासन कार्यालय जुटेको छ।

काठमाडाैँ । राजधानीको मुटु काठमाडौँलाई रात्रिकालीन समयमा पनि पूर्ण रूपमा चलायमान बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले रणनीतिक तयारी थालेको छ। यसअघि दरबारमार्ग र ठमेल जस्ता पर्यटकीय क्षेत्रहरूमा चौबीसै घण्टा बजार खुल्ने व्यवस्था मिलाइसकेको प्रशासनले अब उपत्यकाका अन्य क्षेत्रमा पनि यसको दायरा फराकिलो बनाउने गृहकार्य अघि बढाएको हो।

यद्यपि, रातको समयमा बजार खुला राख्न आवश्यक पर्ने शान्ति सुरक्षा र भौतिक पूर्वाधारको पाटोलाई पूर्ण रूपमा बलियो नबनाएसम्म हाललाई तोकिएको नियमित समयसीमाभित्र मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न भनिएको छ।

चौबीसै घण्टा बजार खोल्ने घोषणा गर्नुअघि त्यससँग जोडिएका बहुआयामिक पाटोहरूलाई व्यवस्थित बनाउनुपर्ने ठहर प्रशासनले गरेको छ। संघीय राजधानीको गरिमा र सुरक्षा संवेदनशीलताबारे गम्भीर बन्दै प्रशासनले सडक यातायात, निर्वाध रूपमा बिजुलीको आपूर्ति, भरपर्दो इन्टरनेट सेवा, स्वास्थ्य आपत्कालीन व्यवस्था र सडक बत्तीको उचित प्रबन्धलाई प्राथमिकतामा राखेको छ।

रात्रिकालीन बजार क्षेत्रमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी सीसीटीभी निगरानी तथा गस्तीको योजना पनि यसै तयारीभित्र समेटिएको छ।

योजनालाई कागजमा मात्र सीमित नराखी जमीनमा उतार्नका लागि प्रशासनले सरोकारवालाहरूसँगको परामर्शलाई तीव्र पार्ने भएको छ। आगामी दिनमा स्थानीय तह, विभिन्न सरकारी निकाय, यातायात व्यवसायी, व्यापारिक संघसंस्था र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै टेबलमा राखेर विस्तृत समन्वयात्मक बैठक बस्ने तयारी भइरहेको छ।

बजारलाई चौबीसै घण्टा चलायमान बनाउँदा आइपर्ने व्यावहारिक कठिनाइहरू र तिनको समाधानका उपायबारे सोही छलफलमार्फत ठोस निष्कर्ष निकालिनेछ।

रातभर बजार खोल्ने तयारीको चरण सुरु भए पनि व्यवसायी र आम नागरिकले यो व्यवस्था तत्कालै सबैतिर लागु भइसकेको भने सम्झनु हुँदैन। जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते एक औपचारिक सूचना जारी गर्दै ठमेल र दरबारमार्ग बाहेकका अन्य क्षेत्रमा अर्को आधिकारिक सूचना नआएसम्मका लागि साविककै समयसीमाभित्र मात्रै व्यापारिक गतिविधि सञ्चालन गर्न स्पष्ट निर्देशन दिएको छ।

सम्पूर्ण सुरक्षा प्रबन्ध र न्यूनतम पूर्वाधारहरू तयार भइसकेपछि मात्र चरणबद्ध रूपमा काठमाडौँका अन्य क्षेत्रहरूलाई पनि चौबीसै घण्टा खुला गर्ने घोषणा हुने प्रशासनले जनाएको छ।